प्रधानसेनापति सिग्देलको भनाइ : ‘सैनिक अनुशासन र अराजनीतिक चरित्रले हाम्रो इतिहास गौरवशाली बनाएको छ’

बुटवल । नेपाली सेनाको ऐतिहासिक परम्परा, सैनिक अनुशासन र अराजनीतिक चरित्र नै यसको गौरवशाली इतिहासको आधार भएको प्रधानसेनापति अशोकराज सिग्देलले बताएका छन्। आइतबार बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले सेनालाई वर्तमान र भविष्यका चुनौतीको सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व रहेको बताए।
प्रधानसेनापति सिग्देलले भने, ‘सैनिक अनुशासन, सैनिक चेन अफ कमान्ड, सङ्गठनको अराजनीतिक चरित्र, एकताको भावना र साङ्गठनिक लक्ष्य प्राप्तिका लागि अविच्छिन्न रूपमा केन्द्रित हुने परम्पराले हाम्रो इतिहासलाई थप गौरवशाली बनाएको छ।’ उनले हामीसँग वीर पुर्खाहरूको त्याग, तपस्या, बलिदान, कर्तव्यपरायणता र अटल राष्ट्रभक्तिको जीवन्त र गर्विलो इतिहास रहेको पनि स्मरण गराए।
प्रधानसेनापति सिग्देलले देशको सार्वभौमिकता रक्षादेखि आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भूमिकाको चर्चा गर्दै यी सबै कार्यहरूले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताए। हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्यकुशलताको सर्वत्र प्रशंसा भइरहेको पनि उनले उल्लेख गरे।
प्रधानसेनापति सिग्देलले भूतपूर्व सैनिकहरूको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्र निर्माण र रक्षामा उनीहरूको अतुलनीय योगदानको समेत उच्च प्रशंसा गरे। उनले वर्तमान र भविष्यका चुनौतीको सामना गर्न सेनालाई थप सक्षम बनाउन तत्कालीन र भूतपूर्व सैनिक सबैको भूमिका महत्वपूर्ण रहेको बताए। यो सम्मेलनले भूतपूर्व सैनिकहरूको मनोबल उकास्नुका साथै सेना र भूतपूर्व सैनिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। नेपाली सेनाले हरेक वर्ष विभिन्न स्थानहरूमा यस्ता सम्मेलन गरी भूतपूर्व सैनिकहरूको हित र समस्याबारे छलफल गर्दै आएको छ।





