तेलको मूल्य बढेपछि सरकारी कार्यालय र विद्यालयलाई शनि–आइतबार बिदा, कार्यालय समय ९–५

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूलाई शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आज दिउँसो करिब २० मिनेट बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। भोलिदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिइने भएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकपछि जानकारी दिँदै भने, ‘पेट्रोलियम पदार्थको मूल्य बढेको सन्दर्भमा सरकारी कार्यालय र शैक्षिक संस्थाका लागि शनिबार र आइतबार बिदा दिने निर्णय गरेका छौं।’ उनका अनुसार अबदेखि कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले डिजेल तथा पेट्रोल चल्ने सवारी साधनलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णयसमेत गरेको छ। यस निर्णयले इन्धन खपत कम गर्न र वातावरण संरक्षणमा टेवा पुग्ने सरकारको विश्वास छ।
सरकारी कार्यालय र विद्यालयहरूमा साताको पाँच दिन मात्र सेवा सञ्चालन हुने भएको छ। शनिबार र आइतबारको बिदाले कर्मचारी र विद्यार्थीमा भने मिश्रित प्रतिक्रिया देखिएको छ। इन्धन बचत हुनेमा धेरैले स्वागत गरे पनि सेवा प्रवाह प्रभावित हुने चिन्ता पनि व्यक्त भइरहेको छ। अब यस निर्णयको कार्यान्वयन कसरी हुन्छ र जनताको सेवामा कस्तो असर पर्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।g





