२२ चैत्र २०८२, आईतवार

सेनाको सहयोग नपाएपछि राजीनामा दिएको ओलीको दाबी : ‘घटनाको निष्पक्ष छानबिन हुनुपर्छ’

काठमाडौं । जेनजी आन्दोलनबाट अपदस्त भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्कालीन अवस्थामा नेपाली सेनाले सहयोग नगरेपछि राजीनामा दिन बाध्य भएको बताएका छन्। प्रहरी हिरासतमा रहेका ओलीले अदालतलाई दिएको बयानमा भदौ २४ गते सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेपछि राजीनामा दिनुपरेको उल्लेख गरेका हुन्।

ओलीले सरकारी वकिलसमक्ष आफ्नो इनकारी बयान दिएका छन् भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ भइरहेको छ। उनले भदौ २३ र २४ को घटना नेपाल राष्ट्रविरुद्धको षड्यन्त्र भएको र सो घटनाको सुरुदेखि अन्त्यसम्मका सबै पक्षको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

ओलीले प्रधानमन्त्रीले गोली चलाउन आदेश दिने कानून नरहेको भन्दै घटनाप्रति दुःख व्यक्त गरे। उनले भने, ‘शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र किन यस्तो द्वन्द्व सिर्जना भयो भन्नेबारे छानबिन हुनुपर्छ। घटनाप्रति दुःख व्यक्त गर्छु, तर दोषी उम्कनु हुँदैन। घटनाको सुरुदेखि अन्त्यसम्म संलग्न सबै – राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म – माथि निष्पक्ष कारबाही हुनुपर्छ।’

ओलीले आफ्नो बयानमा राष्ट्रको हितमा बोल्दा र काम गर्दा विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको र आफूलाई सत्ताच्युत गराइएको दाबी समेत गरेका छन्। उनी हाल जेनजी आन्दोलनका घटनासम्बन्धी आयोगको प्रतिवेदनका आधारमा पक्राउ परी हिरासतमा छन्। ओलीको बयानले जेनजी घटनाको क्रममा सरकार र सेनाबीचको समन्वय कमजोर रहेको संकेत मात्र गरेको छैन, यसले घटनालाई ‘राष्ट्रविरुद्धको षड्यन्त्र’ भन्दै नयाँ बहस पनि सुरु गरेको छ। अब अदालतले यी दाबीलाई कसरी लिन्छ र सत्य के हो भन्ने विषयले राष्ट्रिय राजनीतिको गति नै निर्धारण गर्ने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button