प्रहरी अस्पतालको ४२ वर्ष : आईभीएफ ल्याब र नयाँ मेसिनसहित स्वास्थ्य सेवा विस्तार

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ४२औं वार्षिकोत्सव आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ। यस अवसरमा उनले अस्पताल परिसरमा नवनिर्मित इन्ट्रायूटेराइन इन्सेमिनेसन (आईयूआई) तथा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) ल्याबको उद्घाटन गर्नुका साथै अवलोकन गरे।
प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई इलेक्ट्रोकोनभल्सिभ थेरापी (ईसीटी) मेसिन हस्तान्तरण गरे। उनले अस्पतालको वार्षिक स्मारिका ‘अस्पताल दर्पण–२०८२’ को समेत लोकार्पण गरे, जसमा अस्पतालको वर्षभरिका गतिविधि, उपलब्धी, सेवा प्रवाह र स्वास्थ्यमूलक लेखहरू समेटिएका छन्। उनले विशेषज्ञ चिकित्सकहरू तथा अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलाई कदरपत्र प्रदान गरे।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले अस्पतालको क्रमिक विकास र हालको स्तरसम्म पुर्याउन अग्रजहरूको भूमिका र योगदानको प्रशंसा गरे। प्रहरी कर्मचारीहरूको संगठनप्रतिको समर्पण र जोखिमको सामना गर्ने हिम्मत उनीहरूले संगठनबाट प्राप्त गर्ने सेवा सुविधाको गुणस्तरसँग प्रत्यक्ष जोडिएको हुँदा अस्पतालले चिकित्सक र सेवाग्राहीबीच भावनात्मक सम्बन्ध विकास गर्दै आत्मीय व्यवहारका साथ सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।
कार्कीले नयाँ जनादेश प्राप्त सरकारबाट सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई विशेष प्राथमिकता दिइएको सन्दर्भमा नेपाल प्रहरी अस्पतालले पनि आफ्नो सेवा प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र उत्तरदायी बनाई दायित्व वहन गर्ने विश्वास व्यक्त गरे। प्रहरीको दैनिक जीवनशैली नै संवेदनशील तथा शारीरिक र मानसिक रूपमा जोखिमपूर्ण रहेको र कार्यबोझ पनि धेरै हुने भएकाले स्वास्थ्यसम्बन्धी सबै गुनासोलाई उचित सम्बोधन गरी अस्पतालले सेवाग्राहीमैत्री, व्यावसायिक र उच्च गुणस्तरीय सेवा प्रवाह गर्न जरुरी रहेको उनको भनाइ थियो। विगतमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै अस्पतालले सेवाहरूलाई अझ प्रभावकारी बनाई स्तरोन्नति र दीर्घकालीन विकासका लागि सुधारका क्षेत्र पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीले संघको तर्फबाट टिभी र ईसिजी मेसिन अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीमकुमारी पाण्डेलाई हस्तान्तरण गरिन्। साथै, उनले उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेकी थिइन्।
अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरी सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउन प्रशासन सदैव प्रयासरत रहेको बताए। नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायब महानिरीक्षक डा. सञ्जय विक्रम श्रेष्ठले स्वागत मन्तव्य राख्दै प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
समारोहमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, भिजिटिङ कन्सल्टेन्टहरू, समाजसेवी लगायतको उपस्थिति रहेको थियो। नयाँ आईभीएफ ल्याब र ईसीटी मेसिन थपिएपछि अस्पतालले प्रहरी कर्मचारी र आम नागरिकलाई थप गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास गरिएको छ।





