२२ चैत्र २०८२, आईतवार

सरकारी कार्यक्रममा टि–सर्टमाथि कालोकोट

प्रधानमन्त्री शाह ‘र्यापर’ जस्तो देखिए, पोशाकको मर्यादा राख्न अर्चना शर्माको आग्रह

काठमाडौं – सरकारी कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले टि–सर्टमाथि कालो कोट लगाउँदा उनी ‘नेफपको र्यापर’ जस्तो देखिएको भन्दै समाजसेवी अर्चना शर्माले पोशाकको मर्यादा पालना गर्न आग्रह गरेकी छिन्। फेसबुकमा तस्बिरसहितको पोस्ट गर्दै उनले अन्तर्राष्ट्रिय नियम अनुसार ठाउँ र जिम्मेवारी अनुसारको पोशाक हुने तर्क गरेकी छन्।

अर्चना शर्माले आफ्नो पोस्टमा लेखेकी छन् : “पोशाकको पनि त मर्यादा हुन्छ होलानी? अरुबेला आफूखुशी लगाउन छुट छ तर सरकारी कार्यक्रममा सरकारले तोकेको रङ्गको पोशाक नै लगाउनुपर्छ। ५ जनाले राष्ट्रिय पोशाक र खैरो कोट लगाउँदा टि–सर्ट माथि कालो कोट लगाएका प्रधानमन्त्री बकुल्लाको हुलमा काग जस्तो देखिएन र? यसरी त तपाईंलाई प्रधानमन्त्री जस्तो नदेखी नेफपको र्यापर नै देखियो, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यु।”

उनले पोशाकले पहिचान र गरिमा बोल्ने तथ्यलाई विभिन्न पेशाको उदाहरणसहित व्याख्या गरेकी छन् : “सोच्नुस् त सेना र प्रहरीले आफ्नो पोशाक नलगाए के हुन्छ? डाक्टरले किन सेतै कोट लगाएको होला? वकिलले किन कालै कोट लगाएका होलान्? जोगी सन्यासीले किन गेरु वस्त्र नै धारण गरेका? लामा गुरुहरूले किन कलेजी चिवर नै लगाउँछन्? अपरेसन गर्दा किन हरियो गाउन नै लगाउने होला?”

उनले ठाउँ, जिम्मेवारी र समारोह अनुसारको पोशाक र रङको चयन अन्तर्राष्ट्रिय नियम भएको स्पष्ट पार्दै मर्यादा सबैले राख्नुपर्ने धारणा राखेकी छिन्।

यसैबीच, सामाजिक सञ्जाल र राजनीतिक क्षेत्रमा प्रधानमन्त्री शाहको पोशाक शैली युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तुलना गर्दै चर्का टिप्पणीहरू भइरहेका छन्। केही विश्लेषकहरूले दुवैको पोशाक शैली एउटै देखिएको, दुवैको सम्बन्ध अमेरिकी शक्ति केन्द्रसँग रहेको र दुवैलाई जन्माउने एउटै पश्चिमा शक्ति भएको टिप्पणी गरेका छन्। यो विषय यतिबेला नेपाली राजनीतिक क्षेत्रमा सर्वत्र चर्चाको केन्द्रविन्दु बनेको छ।

अर्चना शर्माको यो पोस्टले सरकारी तथा राष्ट्रिय समारोहमा नेताहरूको पोशाकले राष्ट्रिय गरिमा र मर्यादामा पार्ने प्रभावबारे गम्भीर बहस सुरु गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button