१२ बैशाख २०८३, शनिबार

जेलबाट भागेपछि पुनः लागुऔषध कारोबारमा सक्रिय, ४ लाख नगदसहित महिला पक्राउ

पोखरा – कास्की प्रहरीले पोखराको सैनिक बस्तीबाट लागुऔषध र ठूलो परिमाणमा नगदसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्वत कुश्मा घर भई हाल पोखरा–२९ बस्ने २६ वर्षीया सिमा दर्जीलाई पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिन गरी जम्मा ८ एम्पुल लागुऔषध, दुई थान मोबाइल र ४ लाख १ हजार रुपैयाँ नगद बरामद गरेको छ।

प्रहरी अनुसन्धानका क्रममा चौंकाने तथ्य बाहिरिएको छ – पक्राउ परेकी दर्जी यसअघि पनि लागुऔषध मुद्दामा दोषी ठहर भई कास्की कारागारमा सजाय काटिरहेकी कैदी थिइन्। तर, उनले गत भदौ २४ गते देशमा भएको जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट फरार भएको खुलेको छ।

जेलबाट भागेपछि पनि लागुऔषधकै कारोबारमा सक्रिय रहेको अवस्थामा उनी यसपटक नगदसहित प्रहरीको फन्दामा परेकी हुन्।

पक्राउ परेकी दर्जीमाथि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

जेलबाट फरार भएकी पूर्वकैदीले पुनः लागुऔषध कारोबार गरिरहेको खुल्नु र उनको साथबाट ठूलो रकम नगद बरामद हुनुले कारागार व्यवस्थापन र सुरक्षामा समेत गम्भीर प्रश्न उठाएको छ। प्रहरीले दर्जीविरुद्ध आवश्यक अनुसन्धान र कारबाही अघि बढाएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button