२३ चैत्र २०८२, सोमबार

एक सातामा पौने ३ सय अंक घट्यो, साढे ४ खर्बको सेयर मूल्य खुम्चियो

उद्योगी पक्राउको त्रासले बजार मनोविज्ञान बिग्रियो

काठमाडौं । गत फागुन २५ मा नेप्से परिसूचक एकैदिन १६२ अंकले उफ्रँदा तीन पटक सर्किट ब्रेक लागेको थियो। त्यसयता १९ दिनको कारोबारमा ११ दिन बजार बढ्यो तर घट्दा भने तीव्र गतिमा ओर्लियो। गत सातायता भने नेप्सेले उच्च अंकको ओरालो यात्रा तय गरेको छ। एक साताको अवधिमा मात्र नेप्से पौने ३ सय अंकले घटेर आइतबार २ हजार ६ सय ७६ अंकमा ओर्लिएको छ। यस अवधिमा सेयर बजारको कुल पुँजीकरण साढे ४ खर्बले खुम्चिएको छ।

आइतबार मात्रै नेप्से १०५.५० अंकले घट्दा २ सय ६१ कम्पनीको सेयर मूल्य घट्यो भने ७ कम्पनीको मात्र बढ्यो। कारोबार रकम भने बिहीबारको ८ अर्ब ८२ करोडबाट बढेर १२ अर्ब ३८ करोड पुगेको छ। तर, कारोबार रकम बढ्नु भनेको धेरैले सेयर बेचेको संकेत हो – जुन बजारका लागि सकारात्मक संकेत होइन।

लामो समयको राजनीतिक अस्थिरताबाट वाक्कदिक्क भएका लगानीकर्ता गत फागुनको निर्वाचनपछि आशावादी बनेका थिए। दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकारले राजनीतिक स्थिरता ल्याउने अपेक्षा थियो। तर त्यो ‘बढेको आशा’ ले जीवन नपाउँदै सेयर बजार ओरालो लागेको हो।

स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले सरकारले गरेको ‘एक्सन’ (उद्योगी व्यवसायी समात्ने) ले नै बजारमा नकारात्मक भाष्य सिर्जना गरेको बताए। ‘स्थापित व्यवसाय तथा व्यावसायिक घरानाका व्यक्तिलाई धरपकड गरिएको छ, जसको सेयर बजारमा राम्रो लगानी थियो,’ उनले भने, ‘उनीहरूलाई प्रहरीले पक्राउ गर्दा आम नागरिकमा मनोवैज्ञानिक असर परेको छ।’

सिजापतिका अनुसार त्रासका कारण ठूला व्यवसायीहरू अहिले जसरी भए पनि बजार छोड्ने मनस्थितिमा देखिन्छन्। प्रहरीले समातेपछि सम्पत्ति रोक्का हुने डरले उनीहरूले धमाधम सेयर बिक्री गरिरहेको उनको दाबी छ। कुन व्यवसायीले कति सेयर बेचे भन्ने यकिन नभए पनि लगानीकर्तामाझ ‘ठूला लगानीकर्ता बजार छोड्दै छन्’ भन्ने सन्देश फैलिएको छ।

नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले पनि लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिएको बताए। ‘प्रहरीबाट केही व्यावसायिक घरानाका नेतृत्व पक्राउ परेपछि पुँजी बजारमा पैसा गलत ढंगले प्रयोग भएको रहेछ कि भन्ने सन्देश गएको छ,’ पौडेलले भने, ‘यसले सेयर बजार सम्पत्ति शुद्धीकरणको माध्यम बनेको हो कि भन्ने त्रास फैलिएको देखिन्छ।’

तीन वर्षयता बैंकहरूमा ऋण दिन मिल्ने रकम पर्याप्त छ। ब्याजदर घटेर इतिहासकै न्यून अवस्थामा छ। राष्ट्र बैंकले सेयर कर्जाको सीमा हटाएको छ। उद्योग, घरजग्गा, होटल तथा पर्यटनलगायत अन्य क्षेत्रमा अपेक्षित सुधार नहुँदा लगानीको अवसर साँघुरो छ। यी सबै कारणले सेयर बजार उकालो लाग्ने अनुमान गरिएको थियो।

तर सरकारले व्यावसायिक घरानाका शीर्ष नेतृत्वलाई पक्राउ गर्न थालेपछि बजारको मुड बदलिएको छ। आफ्नो सम्पत्ति सबैभन्दा छिटो पैसामा रूपान्तरण गर्ने माध्यम सेयर बजार भएकाले ठूला लगानीकर्ताले धमाधम सेयर बिक्री गर्न थालेको ब्रोकरहरूको बुझाइ छ।

पौडेलले अहिले ब्याजदर, अधिक तरलता लगायतका सूचक सेयर बजारमैत्री रहेको तर लगानीकर्तामा त्रास रहेको भन्दै सरकारले पुँजीबजारप्रति आफ्नो धारणा स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याएका छन्। के यो गिरावट अस्थायी हो वा दीर्घकालीन, त्यो भने सरकारको आगामी नीति र कार्यदिशाले निर्धारण गर्ने देखिन्छ। सेयर बजारको मनोविज्ञानलाई सामान्य बनाउन सरकारले व्यवसायीमैत्री वातावरण बनाउनुको विकल्प छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button