१४ बैशाख २०८३, सोमबार

मध्यपूर्व द्वन्द्वले तेलको मूल्य बढेपछि ओपेक प्लसद्वारा मे महिनामा प्रतिदिन २ लाख ६ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने निर्णय

मस्को – पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) र यसका सहयोगी राष्ट्रहरू (ओपेक प्लस) ले मध्यपूर्वमा जारी द्वन्द्वका कारण बढेको ऊर्जा मूल्यलाई सम्बोधन गर्न मे महिनामा प्रतिदिन २ लाख ६ हजार ब्यारेल तेल उत्पादन वृद्धि गर्ने निर्णय गरेको छ।

ओपेकको एक विज्ञप्ति अनुसार यो निर्णय आइतबार भर्चुअल बैठकपछि सार्वजनिक गरिएको हो। बैठकमा साउदी अरेबिया, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमान सहभागी थिए। उक्त बैठकले विश्वव्यापी बजारको अवस्था र भविष्यको सम्भावनाको समीक्षा गरेको थियो।

मध्यपूर्वमा जारी सैन्य द्वन्द्वका कारण ऊर्जा आपूर्ति अवरुद्ध हुँदै गएको अवस्थामा, आठ ओपेक प्लस राष्ट्रहरूले ऊर्जा आपूर्तिको निर्बाध प्रवाह सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षाको महत्त्वपूर्ण आवश्यकतालाई जोड दिएका छन्।

उनीहरूले ऊर्जा पूर्वाधारमाथि भएको आक्रमणले समग्र आपूर्ति क्षमतामा हानी पु¥याएकोमा गम्भीर चिन्ता व्यक्त गरे। क्षतिग्रस्त ऊर्जा स्रोतहरूलाई पूर्ण क्षमतामा पुनःस्थापित गर्न लामो समय र ठूलो लागत दुवै लाग्ने तथ्य उनीहरूले उल्लेख गरे।

आठ ओपेक प्लस राष्ट्रहरूले थप निर्णयका लागि पुनः ३ मे मा भेट्ने तालिका बनाएका छन्। त्यसअघि बजारको अवस्थाको निरन्तर मूल्याङ्कन गरिने बताइएको छ।

गौरतलब छ, फेब्रुअरी २८ देखि अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वको द्वन्द्वले क्षेत्रीय ऊर्जा प्रवाहमा गम्भीर असर पुर्याएको छ। कच्चा तेल र प्रशोधित उत्पादनहरूको ढुवानीमा उल्लेख्य गिरावट आएको छ। ओपेक प्लसको यो निर्णयले बढ्दो मूल्यलाई केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button