१२ बैशाख २०८३, शनिबार

हर्क साम्पाङको गृहमन्त्री सुधनलाई खुल्ला चुनौती : ‘फेवातालको २० रोपनी जग्गा प्रकरणमा पत्रकार सम्मेलन राख्नुहोस्’

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई खुल्ला चुनौती दिँदै फेवातालको २० रोपनी जग्गा प्रकरणबारे पत्रकार सम्मेलन राखी स्पष्टीकरण दिन आग्रह गरेका छन्। साम्पाङले सामाजिक सञ्जाल मार्फत गृहमन्त्री गुरुङलाई सम्बोधन गर्दै भनेका छन्, ‘पोखराको फेवातालमा २० रोपनी जग्गा तपाईंको नाममा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ। खास कुरा के हो, पत्रकार सम्मेलन राखिहाल्नुस्। नैतिकताको सवाल खडा भयो।’

हर्क साम्पाङले सार्वजनिक अभिव्यक्तिमा गृहमन्त्री गुरुङलाई ‘प्रिय सुदन गुरुङ ज्यू’ सम्बोधन गर्दै भनेका छन्, ‘तपाईं देशको गृहमन्त्री बन्नुभएकोमा मैले बधाइ दिएको छैन। मलाई “हर्क दाइ” भन्नुहुन्छ, त्यो साइनोले भाइ हो तपाईं मेरो। “हर्क जी” भन्नुहुन्छ, त्यो अर्थमा साथी हो तपाईं मेरो। तर यो देशको विधि र संविधानलाई मान्दा तपाईं “माननीय गृहमन्त्री ज्यू” हुनुहुन्छ।’

प्रतिपक्ष दलको नेताको हैसियतले आफ्नो कर्तव्य सम्झाउँदै साम्पाङले भने, ‘एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाईंको टिकाटिप्पणी गर्नैपर्छ, प्रश्न सोध्नैपर्छ। मेरा प्रश्नहरू व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन्। नथिङ पर्सनल, एभरिथिङ प्रोफेसनल एन्ड लिगल।’

उनले गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको २३ गतेका दोषीहरू पक्राउ गरेकोमा धन्यवाद दिँदै दुई मुद्दा नबिर्सन आग्रह गरे: पहिलो, जेनजी आन्दोलनको २४ गतेको घटनाका दोषीमाथि कारबाही, र दोस्रो, जीबी राईलाई पक्रेर रवि दाइलाई न्याय दिने।

साम्पाङले भने, ‘काम गर्ने मान्छेको खुट्टा तान्छन्। अपजस पाइन्छ नै काम गर्ने क्रममा। तर फेवातालको जग्गा प्रकरणमा अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन्। तपाईंलाई मान्दैनन्। प्रहरीले पनि टेर्न छाड्छन्।’

अन्त्यमा उनले भने, ‘मलाई आशा छ तपाईंले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ। एक दिन म तपाईंलाई हृदय देखि नै बधाइ दिनेछु। त्यो दिन चाँडै आओस्। जय देश।’

हर्क साम्पाङको यो खुल्ला पत्रले गृहमन्त्री गुरुङको जग्गा प्रकरणलाई लिएर राजनीतिक वृत्तमा तरंग ल्याएको छ। अब गृहमन्त्री गुरुङले यस विषयमा औपचारिक धारणा राख्छन् कि राख्दैनन् भन्ने विषय चासोको केन्द्र बनेको छ। साम्पाङले उठाएको नैतिकताको प्रश्नले सरकारकै गृहमन्त्रीको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button