हर्मुजको सङ्कट : चीन–रुस मिलेर खोज्दै युद्ध रोक्ने बाटो, संयुक्त राष्ट्र सुरक्षा परिषद्को धाक जोगाउने जिम्मा दुई महाशक्तिमा

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभबीच आइतबार टेलिफोन वार्ता भएको छ। मध्यपूर्वमा बढ्दो तनाव, विशेषगरी हर्मुज जलडमरुको संकट र इरान–अमेरिका युद्धको बीचमा चीन र रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्को ढाँचाभित्र रहेर तत्काल युद्धविरामका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्का दुई स्थायी सदस्य राष्ट्रको यो एकताले विश्वभर नै ठूलो चासो पैदा गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य समेत रहेका वाङ यीले भने, ‘चीन र रुस, सुरक्षा परिषद्को स्थायी सदस्यको हैसियतले, सिद्धान्तका विषयमा न्याय र निष्पक्षता कायम राख्नुपर्छ। वस्तुपरक र सन्तुलित दृष्टिकोण अपनाउँदै अन्तर्राष्ट्रिय समुदायको व्यापक समझदारी र समर्थन जुटाउनु आवश्यक छ।’ उनले मध्यपूर्वको स्थिति लगातार बिग्रँदै गएको र युद्धको ताप अझै बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गरे। वाङको भनाइमा हर्मुज जलडमरुमार्फत सञ्चालनको मौलिक समाधान भनेको शीघ्र युद्धविराम र युद्धको समाप्ति नै हो। चीनले सधैं अन्तर्राष्ट्रिय तथा क्षेत्रीय तातो विषयहरूको समाधान संवाद र वार्ताबाटै हुनुपर्छ भन्ने पक्षमा वकालत गर्दै आएको उनले स्पष्ट पारे।
रुसी विदेशमन्त्री लाभ्रोभले पनि मध्यपूर्वमा तनाव निरन्तर बढ्दै गएकोमा रुस अत्यन्त चिन्तित रहेको बताए। चलिरहेको द्वन्द्व र हर्मुज जलडमरुको सम्बन्धमा उनले रुसको स्पष्ट धारणा राख्दै भने – ‘सैन्य कारबाही तत्काल रोकिनुपर्छ। प्रयासहरू राजनीतिक र कूटनीतिक समाधानको ट्रयाकमा फर्कनुपर्छ। द्वन्द्वको जड कारणलाई सम्बोधन गर्नुपर्छ र यसका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रचनात्मक भूमिका खेल्नुपर्छ।’ लाभ्रोभले चीनसँग निरन्तर घनिष्ट सम्पर्क र समन्वय गर्ने र युद्धविराम तथा युद्धको अन्त्यको पक्षमा आवाज उठाउन र प्रयास जारी राख्न रुस तयार रहेको प्रतिबद्धता दोहोर्याए।
यस टेलिफोन वार्ताले दुई ठूला शक्तिबीचको समन्वयलाई पुनः पुष्टि गरेको छ। अमेरिका र इजरायलले इरानमाथि फेब्रुअरी २८ मा संयुक्त आक्रमण थालेपछि मध्यपूर्वको अवस्था जटिल बन्दै गएको थियो। इरानले जवाफी प्रहार गरेपछि अमेरिकाले पटक–पटक हर्मुज जलडमरु खोल्न अल्टिमेटम दिइरहेको छ। तर इरानले भने शत्रुको आक्रमण रोक्न ७० लाख स्वयंसेवक तयार रहेको दाबी गर्दै प्रतिरोध जारी राखेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ४८ घण्टे ‘नरकको आगो’ को धम्की दिइसकेका छन्।
चीन र रुसको यो संयुक्त पहललाई अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्नको अन्तिम आशाको किरणका रूपमा हेरेको छ। यदि यी दुई शक्तिले साँच्चै अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन सके भने विश्व युद्धको ठूलो प्रकोप टर्न सक्छ। तर यो बाटो सहज छैन। अमेरिका, इजरायल, इरान र खाडी राष्ट्रको स्वार्थको गोलार्धमा सन्तुलन मिलाउनु चीन र रुसका लागि पनि ठूलो चुनौती हो। अब हेर्न बाँकी छ – के बेइजिङ र मस्कोको यो संयुक्त प्रयासले हर्मुजको मुखमा बलेको आगो निभाउन सफल हुन्छ, वा यो पनि अर्को कूटनीतिक घोषणापत्र मात्र बनेर रहन्छ ? सम्पूर्ण विश्वको ध्यान अब चीन–रुसको यो पहल, अमेरिकी प्रतिक्रिया र इरानी अडानमा केन्द्रित भएको छ।





