१२ बैशाख २०८३, शनिबार

गृहमन्त्री सुधनले फेवाताल जग्गा प्रकरणमा भने– ‘आफैं ठगिएको हुँ, अब कानुनी उपचार खोज्छाैं’

काठमाडौं । फेवातालको २० रोपनी जग्गा प्रकरणले सामाजिक सञ्जाल तताइरहेको बीचमा गृहमन्त्री सुधन गुरुङले मौन तोडेका छन्। उनले आफू त्यसमा ठगिएको बताउँदै कानुनी उपचारमा जाने तयारी गरेको सचिवालयले जनाएको छ। पोखराको फेवाताल किनारमा करिब ८–१० वर्षअघि उनसहित तीन जना युवा उद्यमीले ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालनको योजना बनाएका थिए।

गृहमन्त्री गुरुङको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशमै केही गरौं भन्ने हुटहुटी र ऊर्जा बोकेका हामीले ठूलो लगानी र सपनाका साथ काम सुरु गरेका थियौं। जग्गा भाडामा लिनुपूर्व जग्गाधनीहरूले हामीलाई उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए। लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको देखाएका थिए। तर पछि नगरपालिकाबाट बुझ्दा त्यो मापदण्डभित्र पर्दो रहेछ।’

गृहमन्त्री गुरुङले आफूहरूलाई झुक्याएको थाहा पाएपछि तत्कालै काम रोकेको बताएका छन्। सचिवालयले उनको भनाइ उद्धृत गर्दै भनेको छ, ‘हामीलाई झुक्याएर, ठगेर जग्गा भाडामा दिइएको यो तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ। एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि जुन खेलबाड भयो, त्यो स्वीकार्य छैन।’

गृहमन्त्री गुरुङले यो ठगीविरुद्ध कडाभन्दा कडा कानुनी उपचार खोज्ने तयारी गरेका छन्। उनले भनेका छन्, ‘हामीलाई परेको यो अन्याय र ठगीविरुद्ध हामी अब कानुनी प्रक्रियामा कत्ति पनि विचलित नभई अगाडि बढ्ने छौं।’

पछिल्ला दिनहरूमा फेवातालको ६५ मिटर मापदण्डभित्र पर्ने जग्गामा गृहमन्त्रीको नाम जोडिएपछि उनी आलोचनाको केन्द्रमा थिए। अहिले उनले आफू पीडित रहेको र जग्गाधनीले तथ्य लुकाएर ठगी गरेको भन्दै कानुनी बाटो रोजेका छन्। तर प्रश्न उत्तिकै जिवित छ– के गृहमन्त्रीजस्तो संवेदनशील पदमा रहेको व्यक्तिले जग्गाको लिज लिनुअघि यति ठूलो लगानीको योजना बनाउँदा नगरपालिका वा सम्बन्धित निकायमा एक पटक पनि पुष्टि नगरी भरोसामै लगानी गरेको हो? अथवा, उनी पनि त्यो जग्गाको अवस्थाबारे जानकार थिए तर पछि मात्रै ठगिएको भन्ने अभिव्यक्ति आयो? यी प्रश्नको जवाफ भने आगामी कानुनी प्रक्रियाले नै दिने देखिन्छ। अहिलेलाई गृहमन्त्रीले आफू विरुद्धको आरोपलाई ‘ठगी’ को संज्ञा दिँदै उल्टै पीडितको भूमिका निभाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button