९४१ मिटरदेखि ३३१० मिटरसम्म : सगरमाथाको पदचिह्न अवलोकन गर्ने भर्जिन पदमार्ग अहिले विदेशीको रोजाइमा

सोलुखुम्बु । सगरमाथाको काखमा रहेको सोलुखुम्बुको तल्लो सोलु क्षेत्रमा रहेको ‘एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग’ पर्यटकको लागि नयाँ गन्तव्य बन्दै गएको छ। माप्यदुधकोशी गाउँपालिका र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को संयुक्त प्रवर्द्धनपछि यो पदमार्ग पहिलो वर्षमै विदेशी पर्यटकको रोजाइमा परेको हो। अघिल्लो सिजन र यो सिजनमा मात्रै दर्जनभन्दा बढी देशका पर्यटक समूहहरूले यहाँ भ्रमण गरेका छन्।
अघिल्लो वर्ष मात्रै गाउँपालिकाले निर्माण गरेको यो पदमार्गलाई टानले प्रवर्द्धनात्मक भ्रमण सुरु गरी विश्वभर चिनाएको थियो। त्यसपछि अहिले अमेरिका, जर्मनी, भारत, संयुक्त अधिराज्य, अष्ट्रेलियालगायतका देशका पर्यटकले यहाँ आउन थालेका छन्। समुद्री सतहबाट दुधकोशी नदीको किनारमा रहेको ९ सय ४१ मिटरको उचाइदेखि सुरु भई आरानडाँडाको भ्यु प्वाइन्ट ३ हजार ३ सय १० मिटरको उचाइसम्म फैलिएको यो पदमार्गलाई सबै उमेर समूह र सबै सिजनका लागि उपयुक्त मानिएको छ। गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईका अनुसार यो पदमार्ग न त धेरै कठिन छ, न त अत्यन्तै सजिलो – यो सन्तुलित ट्रेकिङ अनुभव दिन्छ।
यस पदमार्गको सबैभन्दा ठूलो विशेषता के हो भने – विश्वको सर्वोच्च शिखर सगरमाथासहित थामसेर्कु, कुसुमकाङ्गरु, नुम्बुर, खुम्बुट्से, मकालुलगायत दर्जनभन्दा बढी हिमाली चुचुराहरूलाई नजिकैबाट अवलोकन गर्न सकिन्छ। अल्पाइन ट्रेकिङ कम्पनीका सञ्चालक अमृत राई भन्छन्, ‘यो पदमार्ग प्रकृति र संस्कृतिको अद्भुत संयोजन हो। एकातिर हिमालको बरफले ढाकिएको दृश्य, अर्कातिर सोलुका तामाङ, शेर्पा र किराँत समुदायको संस्कृति, मठमन्दिर र गुम्बा – यी सबैको अवलोकन गर्न पाइन्छ।’
यस पदमार्गको अर्को विशेषता – सगरमाथा आधार शिविरसम्म पुग्न नसक्ने वृद्धवृद्धा तथा सीमित समय भएका पर्यटकका लागि यो उत्तम विकल्प हो। अल्पाइन ट्रेकले ल्याएको जर्मन टोलीमा २० जनामध्ये ३ जना पर्यटक ७० वर्षभन्दा माथिका रहेको पर्यटन व्यवसायी दुर्गा राईले जानकारी दिए। ट्रेकिङ गर्दा स्वास्थ्यमा कुनै समस्या नभएको र यो पदमार्ग सहज रहेको उनीहरूको प्रतिक्रिया रहेको छ।
पदमार्गका मुख्य अवलोकन केन्द्रहरूमा सिलगुडी डाँडा, रातानाङ्गे डाँडा, कुदाम डाँफे भीर, जोरढुंगा, जलेश्वरी मन्दिर, सोलाबन, धजे डाँडा र आरान डाँडा रहेका छन्। पालिकाका प्रवक्ता अमित राईका अनुसार जलेश्वरी मन्दिरमा धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ भने धजे डाँडा र आरान डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य अविस्मरणीय छ। यो पदमार्गले माप्यदुधकोशी गाउँपालिकाका अतिरिक्त सोलुदुधकुण्ड नगरपालिका, खुम्बुपासाङल्हमु गाउँपालिका र थुलुङदुधकोशी गाउँपालिकालाई समेत जोड्दछ। यसले स्थानीय तहहरूबीच पर्यटन सहकार्य बढाएको वडा नम्बर १ का अध्यक्ष सज्जन राईको भनाइ छ।
पर्यटन व्यवसायीहरूका अनुसार यो पदमार्गलाई व्यवस्थित गर्न होमस्टे, स्थानीय खानपान, पदमार्गमा सूचनात्मक बोर्ड, र विश्राम स्थलहरू निर्माण गर्नुपर्ने आवश्यकता छ। अहिले स्थानीय समुदायले नै पाहुना सत्कारको जिम्मा लिएको छ। माप्यदुधकोशी गाउँपालिकाले भने यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न बजेट विनियोजन गर्दै नयाँ पूर्वाधार निर्माणको योजना बनाएको छ। सगरमाथा क्षेत्रको यो नयाँ पदमार्गले हिमालको फेदीमा मात्र सीमित नभई नेपालको पर्यटनलाई फराकिलो बनाउने आशा जगाएको छ। अब चुनौती भनेको यसको दिगोपना, वातावरण संरक्षण र स्थानीय समुदायको थप सहभागिता सुनिश्चित गर्नु रहेको छ। यदि त्यो हुन सक्यो भने, यो पदमार्ग नेपालकै ‘अर्को अन्नपूर्ण पदमार्ग’ को रूपमा स्थापित हुन सक्छ।





