१२ बैशाख २०८३, शनिबार

बुशहर प्लान्टमाथि आक्रमण रोक्न रुस–इरान एकजुट : अल्टिमेटमको भाषा छाडेर वार्तामा फर्किनुपर्छ अमेरिका

मस्को । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ र इरानी विदेशमन्त्री अब्बास अराकचीबीच अप्रिल ५ मा टेलिफोन वार्ता भएको छ। मध्यपूर्वमा बढ्दो तनाव र इरानविरुद्धको अमेरिकी धम्कीको बीचमा भएको यो वार्ताले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरेको छ। दुवै मन्त्रीले इरान वरपरको तनाव कम गर्ने प्रयासहरू सफल होउन् भन्ने कामना व्यक्त गर्दै क्षेत्रमा दीर्घकालीन र दिगो स्थिरताको आवश्यकता औंल्याएका छन्।

रुसी पक्षबाट लाभ्रोभले ‘केही देशहरू’ ले तनाव कम गर्न गरिरहेको प्रयासको सफलताको आशा व्यक्त गर्दै अमेरिकाले अल्टिमेटमको भाषा छाडेर वार्ताको टेबलमा फर्किनुपर्नेमा जोड दिए। यो संकेत स्पष्ट छ – रुसको दृष्टिमा हालको संकटको समाधान अमेरिकी धम्कीबाट होइन, कूटनीतिबाट मात्र सम्भव छ। दुवै मन्त्रीले संयुक्त राष्ट्र सुरक्षा परिषद्भित्र पनि यस्ता कुनै पनि कदमको विरोध गरे जसले संकट समाधानको राजनीतिक र कूटनीतिक प्रयासलाई कमजोर बनाउँछ। उनीहरूले अहिले पनि शान्ति वार्ताको ‘बाँकी सम्भावनालाई’ बचाउन जरुरी रहेको बताए।

वार्ताको सबैभन्दा महत्वपूर्ण भाग थियो – बुशहर आणविक ऊर्जा प्लान्टमाथि भएका आक्रमणहरूको सन्दर्भ। इरानको एक मात्र सञ्चालनरत आणविक प्लान्ट, जुन अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को सुरक्षा घेरामा छ, त्यहाँ भएका प्रहारले रुस र इरान दुवैलाई गहिरो चिन्तामा पारेको छ। दुवी मन्त्रीले नागरिक, औद्योगिक, र ऊर्जा पूर्वाधार (जसमा बुशहर प्लान्ट समावेश) माथि भएका ‘लापरवाह र अवैध’ आक्रमणहरू तत्काल बन्द गर्नुपर्नेमा जोड दिए। उनीहरूले प्लान्टका कामदारको जीवन तथा स्वास्थ्यलाई खतरा पु¥याउने र सम्पूर्ण क्षेत्रका लागि रेडियोधर्मी प्रकोपको जोखिम सिर्जना गर्ने कार्यलाई अस्वीकार्य ठहराए।

यसै सन्दर्भमा, लाभ्रोभले प्लान्टका एक इरानी कामदारको मृत्युमा गहिरो समवेदना व्यक्त गरे। पछिल्लो समय बुशहर प्लान्ट नजिक भएका आक्रमणमा परी कम्तीमा एक सुरक्षाकर्मीको ज्यान गइसकेको छ। यस घटनाले मध्यपूर्वमा आणविक दुर्घटनाको डरलाई अझै बलियो बनाएको छ। रुस–इरानको यो संयुक्त वार्ताले के सन्देश दिन्छ भने – इरानको आणविक सुविधामाथि आक्रमण जारी रहेमा यसको परिणामले पूरै क्षेत्रलाई तहसनहस पार्न सक्छ। अब अमेरिका, इजरायल र इरानबीचको त्रिकोणात्मक तनावमा रुसले स्पष्ट रूपमा आफ्नो धारणा राखेको छ – अल्टिमेटमको राजनीति परित्याग गर, नत्र कूटनीति सकिने ठाउँबाट युद्ध सुरु हुन्छ। यस वार्तापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्मा रुसले कस्तो पहल गर्छ, र अमेरिकाले कस्तो प्रतिक्रिया दिन्छ, त्यो हेर्न बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button