फारसको खाडीदेखि संयुक्त राष्ट्रसम्म : रुस–चीन सहकारीको एकता, अब अमेरिकी आक्रमणको विरुद्धमा साझा आवाज

बेइजिङ । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अप्रिल ५ मा टेलिफोन वार्ता भएको छ। फारसको खाडी क्षेत्रमा बढ्दो तनाव, अमेरिका–इजरायलको इरानमाथि निरन्तर आक्रमण, र सम्पूर्ण मध्यपूर्वमा फैलिने खतराको बीचमा भएको यो वार्ताले विश्वको ध्यान खिचेको छ। दुवै मन्त्रीले यस महत्वपूर्ण क्षेत्रमा शीघ्र टकराव अन्त्य गर्न र राजनीतिक तथा कूटनीतिक वार्ता सुरु गर्न गरिरहेको अन्तर्राष्ट्रिय प्रयासबारे छलफल गरेका छन्।
वार्ताको मुख्य विषय थियो – इरान वरपरको परिस्थिति। रुस र चीनले अमेरिका र इजरायलले बिनाउत्तेजना इरानविरुद्ध गरेको आक्रमणप्रति आफ्नो असन्तुष्टि स्पष्ट पार्दै यसलाई ‘अन्यायपूर्ण आक्रमण’ को संज्ञा दिएका छन्। दुवै मन्त्रीले विश्वव्यापी एजेन्डाका अधिकांश विषयहरूमा रुस र चीनको धारणा एकै भएकोमा सन्तोष व्यक्त गरे। विशेषगरी इरानको सन्दर्भमा, दुवै देशले अमेरिकी–इजरायली कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन ठहराउँदै यसको निन्दा गरेको पाइन्छ।
यस वार्तामा रुस–चीन सहकार्यलाई थप सुदृढ बनाउने उपायहरूमा पनि छलफल भयो। खासगरी संयुक्त राष्ट्र संघजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने, न्युयोर्कस्थित आफ्ना स्थायी मिसनहरूमार्फत संयुक्त राष्ट्र सुरक्षा परिषद्को एजेन्डामा रहेका सबै विषयहरूमा निरन्तर समन्वय गर्ने सहमति भएको छ। यसले देखाउँछ – अहिलेको विश्व राजनीतिमा रुस–चीनको धुरी (Axis) अझै मजबुत बन्दै गएको छ।
लाभ्रोभ र वाङ यीको यो वार्ता साधारण कूटनीतिक संवाद मात्र होइन, यो अमेरिकी नेतृत्वलाई स्पष्ट संकेत हो – अब इरानको मामिलामा रुस र चीन एकजुट छन्। यस वार्तापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्मा रुस–चीनले कस्तो पहल गर्नेछन् भन्ने विश्वले प्रतिक्षा गरिरहेको छ। एकातिर, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई ‘नरकको आगो’ देखाउने धम्की दिइरहेका छन्, अर्कातिर रुस–चीनको यो एकताले मध्यपूर्वको भूराजनीतिक सन्तुलनलाई नै परिवर्तन गर्न सक्छ। अब प्रश्न छ – के अमेरिकाले यो चेतावनी सुन्नेछ ? वा यो टकराव अर्को शीतयुद्धमा परिणत हुनेछ ? यी दुई महाशक्तिको संयुक्त अडानले कूटनीतिक समाधानको ढोका खुला राखेको छ। तर यदि अमेरिका र इजरायलले आफ्नो आक्रमण जारी राखे भने, रुस–चीनले सुरक्षा परिषद्मा कडा प्रस्ताव ल्याउन सक्छ, जसले अन्तर्राष्ट्रिय सम्बन्धलाई नै तरंगित पार्न सक्छ। अबको केही दिन यसैको गवाही बन्नेछ।





