आजको संसद बैठक : पर्यटन, चलचित्र र विधि विज्ञान प्रयोगशालाका तीन विधेयक पेस हुँदै

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ। आजको बैठकमा तीन वटा महत्वपूर्ण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ पेश गरिने सम्भावना छ।
यी विधेयकहरू विधि विज्ञान, पर्यटन प्रवर्द्धन र चलचित्र क्षेत्रको व्यवस्थापन तथा विकाससँग सम्बन्धित छन्। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालनका लागि ल्याइने विधेयकले अपराध अनुसन्धान र प्रमाण परीक्षणलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। पर्यटन विधेयकले पर्यटन क्षेत्रको विकास, व्यवस्थापन र प्रवर्द्धनका लागि कानुनी आधार तयार गर्नेछ भने चलचित्र विधेयकले नेपाली चलचित्र उद्योगलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ।
आजको बैठकमा विधेयक प्रस्तुत गरेपछि ती विधेयकहरू सैद्धान्तिक छलफलका लागि सम्बन्धित समितिहरूमा पठाउने सम्भावना छ। संसद्को यो अधिवेशनमा यी विधेयक पारित भएमा कानून निर्माणको दृष्टिले महत्वपूर्ण उपलब्धि हासिल हुनेछ। सरकारले यसअघि नै यी विधेयकलाई प्राथमिकतामा राखेको बताउँदै आएको छ। अब बैठकमा सांसदहरूले विधेयकका विषयमा के कस्तो धारणा राख्छन् भन्ने विषय चासोको केन्द्र बनेको छ।





