विमानस्थलदेखि निर्मल निवाससम्म राजाको स्वागतमा राजावादीको बाढी, सुरक्षाको घेरा कडा

काठमाडौं : राजा ज्ञानेन्द्र शाह आज झापाबाट हेलिकोप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको छ। विमानस्थल गेटदेखि नै हजारौँ समर्थकले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा गुञ्जाउँदै उहाँलाई भव्य स्वागत गरेका छन्। गाडीबाटै समर्थकलाई हात हल्लाउँदै राजाले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

विमानस्थल परिसर र वरपरका क्षेत्र राजावादीको उत्साहजनक उपस्थितिले तात्तिएकाे छ। उनीहरूले राजालाई र्यालीसहित निर्मल निवास पुर्याउने कार्यक्रम तय गरेका छन्। जिल्ला प्रशासन कार्यालयले विमानस्थल र आसपासका क्षेत्रमा भेलावर्जित आदेश जारी गरे पनि राजावादीको उत्साहमा कुनै कमी देखिएको छैन।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले राजालाई विमानस्थल भित्रै पुगेर स्वागत गरेका थिए। विमानस्थलदेखि निर्मल निवाससम्मको सम्भावित मार्गलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। प्रहरी श्राेतले कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्र मजबुत पारिएको जानकारी दिएकाे छ।

हाल काठमाडौं उपत्यकाका हरेक मुख्य चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एकातिर राजावादीको उत्साह र आक्रोश, अर्कोतिर प्रशासनको कडाइ, उपत्यकाको वातावरण तातिने संकेत देखिएको छ। राजाको आगमनसँगै राजसंस्था पक्षधर गतिविधिले पुनः जोड पक्रेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button