नेपालगञ्जदेखि नयाँ दिल्ली सीधा उडान, आधुनिक क्रिकेट रंगशाला र विशिष्टीकृत अस्पताल : सांसद इस्तियाकको प्रधानमन्त्रीलाई २० बुँदे योजना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले बाँकेको समग्र विकासका लागि विभिन्न महत्त्वपूर्ण विषयहरू समेटेर प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष २० बुँदे ध्यानाकर्षण-पत्र बुझाएका छन्। लुम्बिनी प्रदेशका सांसदहरूसँग सोमबार भएको छलफलमा सांसद राईले स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र सामाजिक क्षेत्रको सुधारलाई प्राथमिकता दिँदै बाँकेको समग्र विकासका लागि ठोस योजना प्रस्तुत गरेका हुन्। ‘पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रका सुधारका लागि प्राथमिकताका साथ योजना अघि बढाउन आग्रह गरेको छु,’ उनले भने।
पूर्वाधार विकासतर्फ सांसद राईले नेपालगञ्ज–नयाँ दिल्ली सीधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्न माग गरेका छन्। यस्तो उडानले व्यापार, पर्यटन र स्वास्थ्य उपचारका लागि नेपालगञ्जवासीले ठूलो सहजता पाउने उनको विश्वास छ। त्यस्तै, नेपालगञ्जमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्न, र एकीकृत भन्सार जाँच चौकी (आईसीपी) लाई स्तरोन्नति गरी सुक्खा बन्दरगाहका रूपमा विस्तार गर्न पनि प्रस्ताव गरिएको छ। नौबस्ता औद्योगिक क्षेत्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन र बाढी तथा डुबान नियन्त्रणका लागि राप्ती नदी लगायतका क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता पनि प्रस्तावमा उल्लेख छ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि सांसद राईले भेरी अस्पताललाई विशिष्टीकृत अस्पतालका रूपमा स्तरोन्नति गर्नुपर्ने, चिकित्सक तथा प्राविधिक जनशक्ति अभाव हटाउनुपर्ने, र गम्भीर रोगको उपचारका लागि आवश्यक सेवा विस्तार गर्नुपर्ने माग गरेका छन्। साथै, पालिकास्तरका अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई आधुनिक बनाउँदै प्रसूति सेवासहितको सुविधा विस्तार गर्नुपर्ने उल्लेख गरिएको छ। बाँकेका ग्रामीण क्षेत्रमा अझै पनि आधारभूत स्वास्थ्य सेवा पुग्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे।
शिक्षा क्षेत्रअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विद्यालयहरूमा डिजिटल शिक्षण प्रणाली विस्तार गर्न, र महेन्द्र बहुमुखी क्याम्पसलाई क्षेत्रीय विश्वविद्यालयका रूपमा विकास गर्न प्रस्ताव गरिएको छ। भेरी प्राविधिक शिक्षालयलाई स्तरोन्नति गर्दै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने पनि उल्लेख गरिएको छ। सांसद राईका अनुसार बाँकेको युवा पुस्तालाई रोजगारीसँग जोड्न प्राविधिक शिक्षा अपरिहार्य छ।
सामाजिक क्षेत्रमा अन्तरधार्मिक सहिष्णुता र सामाजिक एकता प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने, धार्मिक पर्यटन विकासका लागि मन्दिर, मस्जिद, गुम्बालगायतका धार्मिक स्थलहरूको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा युवाहरूलाई खेलकुद र सांस्कृतिक गतिविधिमा संलग्न गराउने कार्यक्रम आवश्यक रहेको उल्लेख छ। कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै मल अभावलगायत समस्याको दीर्घकालीन समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ। सांसद इस्तियाक राईको यो योजना बाँकेको सर्वाङ्गीण विकासका लागि एउटा सान्दर्भिक रोडम्यापको रूपमा प्रस्तुत भएको छ। अब प्रधानमन्त्री र सरकारले यसलाई कति गम्भीरतापूर्वक लिन्छ र बजेटमा समावेश गर्छ भन्ने मुख्य प्रश्न हो। बाँकेको विकासले मात्रै लुम्बिनी प्रदेशको समग्र प्रगतिमा ठूलो टेवा पुर्याउने विश्वास गर्न सकिन्छ।





