११ बैशाख २०८३, शुक्रबार

विशेष महाधिवेशनको माग रोक्न बादलको निर्देशन, तीन नेताको जवाफ– हाम्रो अभियान रोकिँदैन

काठमाडौँ । नेकपा एमालेमा विशेष महाधिवेशनको मागलाई लिएर आन्तरिक तनाव चुलिएको छ। कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले विशेष महाधिवेशन पक्षधर तीन जना नेतालाई पार्टी केन्द्रीय कार्यालय च्यासल बोलाएर हस्ताक्षर अभियान तत्काल रोक्न आग्रह गरेका छन्। तर तीनै जना नेताले भने अभियान नरोक्ने अडान लिएका छन्। यो घटनाले एमालेमा आन्तरिक कलह अझै गहिरिएको स्पष्ट संकेत दिएको छ।

बादलले हस्ताक्षर अभियानको अगुवाइ गरिरहेका बुद्धिजीवी परिषद् अध्यक्ष गजेन्द्र थपलिया, राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाही र अनेरास्ववियुका उपमहासचिव कमल जोशीलाई मंगलबार बोलाएर आग्रह गरेका हुन्। बादलको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले सेतोपाटीलाई भने, ‘अहिले पार्टी प्रतिनिधि सभा निर्वाचनको गम्भीर समीक्षा गरी ठोस निष्कर्षको चरणमा छ। अहिलेको अवस्थामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गराउँदा पार्टी झन् संकटमा पर्छ, त्यसलाई रोकौं।’

तर तीनै जना नेताले अभियान रोक्न इन्कार गरे। उनीहरूले बरू केन्द्रीय कमिटी बैठक बोलाएर विशेष महाधिवेशन घोषणा गर्नुको विकल्प नरहेको बताए। छलफलमा सहभागी ती नेताका अनुसार, ‘निर्वाचन सम्पन्न भएको एक महिना बितिसकेको छ। तर पार्टीले समीक्षा गर्ने, कमजोरीको विवेचना गर्ने भन्दा पनि झन् गल्ती गर्ने दिशामा गइरहेको छ। सुहाङ नेम्वाङलाई जसरी दलको नेता बन्ने प्रक्रियामै रोक लगाइयो, यसले शीर्ष नेताहरूको सोच देखाउँछ।’

विशेष महाधिवेशन पक्षको तर्क छ – ‘केन्द्रीय कमिटी बोलाएर विशेष महाधिवेशनमा जाऔं। पुनर्गठनको बाटो तय गरौं। केन्द्रीय कमिटीले त्यो तत्परता नदेखाउने हो भने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्ले नै विशेष महाधिवेशन तोक्छ।’

तर कार्यवाहक अध्यक्ष बादलले दबाब दिँदै भनेका थिए, ‘तपाईंहरूको यो विद्रोह नै हो। तर पार्टीले चाह्यो भने दबाउन सक्छ, स्वीकार्न पनि सक्ला। अहिले हस्ताक्षर अभियान स्थगन गरेर पार्टीलाई सहयोग गर्नुस्।’ छलफल नोकझोकमै टुंगिएको सहभागी नेताहरूले बताएका छन्। अभियानप्रति रुष्ट देखिएका महासचिव शंकर पोखरेलले कुराकानी सकिएपछि फोटोसमेत खिच्न नमानेर अपमान गरेको उनीहरूको आरोप छ।

एक नेताले भने, ‘हामीले पार्टी आन्दोलनलाई रूपान्तरणको दिशामा लैजान खोजेका हौं। समीक्षा गरौं भन्दा महासचिवले नेतृत्वलाई जनताले स्वीकारेनन् भनेको होइन, किन हामीसँग फोटो खिच्नुपर्नेसम्म भन्नुभयो। उहाँहरूको आजको व्यवहारले सुहाङ नेम्वाङको समर्थक र प्रस्तावक बस्न खोज्ने सांसदलाई कति दबाब दिनुभयो होला, हामी अनुमान गर्न सक्छौं।’

आजको छलफलमा कार्यवाहक अध्यक्ष बादल, महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए। उपाध्यक्ष पौडेलले ‘समय कम छ, छोटोमा कुराकानी राख्नुस्’ भने पनि उनीसँग पनि नोकझोक परेको ती नेताले बताए। ‘उहाँहरू कुरा सुन्न नै तयार हुनुहुन्न। रूपान्तरणको आवाज अझै निषेध नै गर्न सकिन्छ, दबाउन पनि सकिन्छ भन्ने सोचमै हुनुहुन्छजस्तो पायौं। हामीले वैधानिक बाटो समातेका छौं। जहिले हामी संख्या पुर्याउन सक्छौं, त्यहिले हामी प्रक्रियामा जान्छौं। हाम्रो अभियान रोकिँदैन,’ ती नेताको भनाइ छ।

एमालेको विधानको धारा ७३ मा विशेष महाधिवेशनको व्यवस्था छ। विशेष महाधिवेशन माग गर्नका लागि पछिल्लो महाधिवेशनमा भाग लिएका ५१ प्रतिशत (करिब ११५५) प्रतिनिधिको हस्ताक्षर चाहिन्छ। एमालेमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको आकार २२६३ सदस्यीय छ। विशेष महाधिवेशनका लागि यसको ५१ प्रतिशत हस्ताक्षर आवश्यक पर्छ। विशेष महाधिवेशन पक्षले आफूसँग आवश्यक संख्या पुगिसकेको र अब जुनसुकै बेला प्रक्रिया अघि बढाउन सक्ने दाबी गरिरहेको छ। तर कार्यवाहक अध्यक्ष बादल र महासचिव पोखरेलले यसलाई ‘पार्टी विरोधी गतिविधि’ को संज्ञा दिँदै रोक्न खोजिरहेका छन्। अब यो विवादले एमालेलाई पुनः पुरानै विभाजनको उचाइमा पुर्याउने वा नेतृत्वले सहमतिको बाटो रोज्ने भन्ने चासो बाँकी छ। हाललाई भने अभियान रोकिएको छैन, विशेष महाधिवेशनको डोबाङ अझै चर्किँदै गएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button