इन्डोनेसियाको ज्वालामुखी सेमेरु विस्फोट : २ हजार मिटर अग्लो खरानीको स्तम्भ, तेस्रो स्तरको अलर्ट जारी

जकार्ता । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा रहेको माउन्ट सेमेरु ज्वालामुखी मंगलबार पुन: विस्फोट भएको छ। ज्वालामुखी तथा भूगर्गीय प्रकोप न्यूनीकरण केन्द्रका अनुसार विस्फोटले ठूलो तातो बादल आकाशमा फैलाएको छ। ज्वालामुखी हाल तेस्रो स्तरको अलर्टमा रहेको छ, जुन देशको चार–तह चेतावनी प्रणालीमध्ये दोस्रो उच्च हो।
स्थानीय समय अनुसार साँझ ५:३० बजे भएको विस्फोटबाट करिब २ हजार मिटर अग्लो खरानीको स्तम्भ निस्किएको थियो। बाक्लो खरानीको धुवाँ उत्तर–पूर्व र पूर्वतिर फैलिएको थियो। भूकम्प मापन यन्त्रले यो घटना ७ मिनेटभन्दा बढी समय रेकर्ड गरेको थियो।
अहिलेसम्म कुनै मानवीय क्षति वा तत्काल क्षतिको रिपोर्ट भएको छैन। तर अधिकारीहरूले चेतावनी दिएका छन् कि ज्वालामुखीको ढलानमा जम्मा भएको सामग्रीले भारी वर्षा भएमा भत्किन सक्ने र लाहर (भोल्केनिक डेब्रिस फ्लो) को जोखिम निम्त्याउन सक्छ। यो विस्फोट सोमबार पनि ज्वालामुखीले धेरै पटक विस्फोट भएको अभिलेखपछि आएको हो।
सेमेरु ज्वालामुखी इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एक हो। यसको अन्तिम ठूलो विस्फोट सन् २०२१ मा भएको थियो, जसमा दर्जनौं मानिसको मृत्यु भएको थियो। स्थानीय प्रशासनले ज्वालामुखीको वरपरको क्षेत्रमा नजान आग्रह गरेको छ। विस्फोटपछि नजिकैका बासिन्दाहरूमा त्रास फैलिएको छ तर अहिलेसम्म कसैलाई विस्थापित गरिएको छैन। अधिकारीहरूले ज्वालामुखीको गतिविधि नियमित रूपमा निगरानी गरिरहेको बताएका छन्। यातायातमा समेत असर पर्न नदिन हवाई मार्गमा सतर्कता अपनाउन निर्देशन दिइएको छ। आगामी दिनमा विस्फोटको तीव्रता घट्यो भने मात्र मानिसहरू सुरक्षित हुनेछन्। तर ज्वालामुखीको नियमित गतिविधि देखिएकाले सतर्कता भने कायमै राख्नु पर्ने विज्ञहरूको भनाइ छ। अहिले विस्फोटको निरन्तरता र बादलको दिशा विशेष ध्यान दिइरहेको छ।





