चीनद्वारा क्यानडा र बेलायतलाई भिसामुक्त, नेपाली नागरिक भने अझै उही झन्झटिलो प्रक्रियामा

काठमाडौं, फागुन ४: चीनले आफ्नो भिसा नीति परिमार्जन गर्दै क्यानडा र बेलायतका साधारण राहदानीधारक नागरिकलाई भिसामुक्त सुविधा दिने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार यो नीति फेब्रुअरी १७, २०२६ देखि लागू हुनेछ र डिसेम्बर ३१, २०२६ सम्म कायम रहनेछ । यसअन्तर्गत क्यानडा र बेलायतका नागरिकले व्यापार, पर्यटन, पारिवारिक भेटघाट तथा पारवहनका लागि ३० दिनसम्म बिनाभिसा चीन प्रवेश गर्न पाउनेछन्।

तर, यही नीतिले नेपाली नागरिकको सन्दर्भमा भने एउटा जटिल प्रश्न खडा गरेको छ। चीनले नेपाली नागरिकलाई भिसामुक्त सुविधा किन नदिएको हो ? जबकि नेपालले चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेपछि अनअराइभल भिसा उपलब्ध गराउँदै आएको छ। नेपाल अध्यागमन विभागको तथ्यांक अनुसार, चिनियाँ कूटनीतिक तथा आधिकारिक राहदानीधारकले नेपालमा ३० दिनसम्म भिसा छुट पाउँछन् भने साधारण राहदानीधारकले विमानस्थलमै भिसा प्राप्त गर्न सक्छन् ।

तर नेपाली नागरिकले चीन भ्रमणमा जाँदा भने झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने बाध्यता छ। हाल नेपाली नागरिकले चीन जानका लागि अनिवार्य रूपमा एजेन्सी मार्फत वा स्वयंले भिसा अप्वाइन्टमेन्ट लिनुपर्छ, त्यसपछि मात्र भिसा आवेदन दिन पाइन्छ। भिसा प्राप्त गर्न सामान्यतया एक हप्ता लाग्ने गरेको छ, र यसका लागि विभिन्न शुल्कहरू तिर्नुपर्ने हुन्छ। चिनियाँ दूतावासका अनुसार भिसा शुल्क भने छुट दिइएको छ, तर सेवा शुल्क भने तिर्नुपर्ने हुन्छ।

चीनले हाल विश्वका ४० भन्दा बढी देशका नागरिकलाई भिसामुक्त सुविधा दिइसकेको छ, जसमा फ्रान्स, जर्मनी, इटाली, स्पेन, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, ब्राजिल, अर्जेन्टिना, साउदी अरब, रुसलगायत देश समावेश छन्। क्यानडा र बेलायतको हालैको थपले यो सूचीलाई अझ विस्तार गरेको छ।

तर नेपाल भने यो सूचीमा परेको छैन। नेपाली पर्यटन व्यवसायी तथा यात्रुहरूले यसलाई दुईपक्षीय सम्बन्धको अपेक्षाअनुरूप नभएको टिप्पणी गरेका छन्। चीनले नेपाललाई भिसामुक्त सूचीमा नराख्दा नेपाली पर्यटक तथा व्यवसायीहरू चीन भ्रमणमा जान उत्साहित हुन नसकेको सरोकारवालाहरू बताउँछन्। नेपाल सरकारले पनि यस विषयलाई द्विपक्षीय वार्तामा उठाउँदै आएको छ, तर हालसम्म कुनै ठोस उपलब्धि हासिल भएको छैन।

यता नेपालमा रहेका चिनियाँ दूतावासले भने भिसा प्रक्रियालाई अझ सरल बनाउन विभिन्न कदम चालेको जनाएको छ। दूतावासले भिसा शुल्क मिनाहा गरेको छ भने अनलाइन आवेदन प्रणाली पनि सुरु गरेको छ । तर, भिसामुक्त सुविधा भने हालसम्म उपलब्ध नहुनुले नेपाल–चीन सम्बन्धको वास्तविक तस्बिर के हो भन्ने प्रश्न खडा गरेको छ।

विश्लेषकहरूका अनुसार, चीनले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति र कूटनीतिक प्राथमिकताअनुसार भिसा नीति निर्धारण गर्ने गर्छ। क्यानडा र बेलायतजस्ता देशलाई भिसामुक्त सुविधा दिनुले चीनले पश्चिमा मुलुकसँगको सम्बन्ध सुधार गर्न चाहेको संकेत गर्दछ। तर नेपालजस्तो छिमेकी मित्र राष्ट्रलाई यो सुविधा नदिनुले द्विपक्षीय सम्बन्धको व्यवहारिक पक्षमाथि नै प्रश्न उठेको छ।

नेपाली नागरिकले भिसा प्रक्रियामा पाउनु परेको कठिनाइ र खर्चिलो प्रक्रियाले चीन भ्रमणमा जाने नेपाली पर्यटकको संख्यामा समेत प्रभाव परेको छ। चिनियाँ पर्यटक नेपाल आउन सहज भए पनि नेपाली पर्यटक चीन जान कठिनाइ हुँदा यसले द्विपक्षीय पर्यटन प्रवर्द्धनमा असन्तुलन ल्याएको छ।

आगामी दिनमा नेपाल सरकारले यस विषयलाई कूटनीतिक पहलमार्फत उठाउने र चीनलाई नेपाली नागरिकका लागि पनि भिसा सहजीकरण गर्न दबाब दिने अपेक्षा गरिएको छ। तर चीनको हालैको नीतिले देखाएअनुसार, भिसा सुविधा विस्तार गर्दा पनि चीनले आफ्नो राष्ट्रिय हित र कूटनीतिक प्राथमिकतालाई केन्द्रमा राख्ने गर्दछ, जसको परिणामस्वरूप नेपाल अझै पर्खाइमा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button