नेपाललाई दोस्रो युक्रेन बनाउने षड्यन्त्र हुनसक्छ : देब गुरुङ

काठमाडौं, फागुन ४: नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री देब गुरुङले पछिल्लो समय नेपालमा देखिएका केही गतिविधिहरूप्रति गम्भीर आशंका व्यक्त गरेका छन्। उनले सेना दिवसको अवसरमा टुंडीखेलमा प्रदर्शन गरिएको संयुक्त सैन्य अभ्यासलाई सार्वभौम मुलुकको निम्ति शोभनीय नभएको टिप्पणी गरेका छन्।
फागुन ३ गते (२०८२ साल फागुन ३) मा २६३औं सेना दिवसको अवसरमा टुंडीखेलमा आयोजित समारोहमा नेपाली सेनासँगै भारत, बेलायत र अमेरिकाका सैनिक टोलीले समेत ब्यान्ड प्रदर्शन गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अवसरमा भारत, बेलायत र अमेरिकाका सैनिक टोली प्रमुखहरूलाई ‘सम्झना टोकन’ प्रदान गरेका थिए। गुरुङले यसलाई संयुक्त सैन्य अभ्यासको नाममा भएको परेड प्रदर्शन भन्दै त्यसप्रति असहमति जनाएका हुन्।
नेता गुरुङले पछिल्लो समयमा विदेशी सेनाका अधिकारीहरूको नेपाल भ्रमण, सैन्य विमानहरूको आवतजावत बढेको तर्फ पनि ध्यानाकर्षण गराएका छन्। यसैगरी, दलाई लामाको अन्तरिम सरकार गठनको बेला शुभकामना आदानप्रदानदेखि पछिल्लो समय उनका प्रतिनिधिहरूको नेपाल आवतजावतमा भएको वृद्धिप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्। हालै मात्र दलाई लामाका प्रतिनिधि क्याब्जे जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल भ्रमणमा आएका थिए, जसलाई लिएर चीनले कूटनीतिक चासो समेत व्यक्त गरेको थियो ।
उनले भदौ २४ गतेको विध्वंस र TOB नामक अर्धसैनिक जस्तो देखिने समूहको खुला प्रदर्शनलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भदौ २३ र २४ गतेको घटनामा नेपाललाई युक्रेनजस्तो अवस्थामा धकेल्ने षड्यन्त्र भएको दाबी गरिसकेका छन्। त्यसैगरी, चिकित्सक उद्यमी दुर्गा प्रसाईंले पनि पश्चिमा शक्तिहरूले नेपालमा बालेन शाह र रवि लामिछानेजस्ता व्यक्तित्वहरूलाई परिचालन गरेर युक्रेन मोडेल लागू गर्न खोजेको आरोप लगाएका थिए ।
गुरुङले निर्वाचनको पूर्वसन्ध्यामा देखिएको यो परिदृश्यलाई नियालेर हेर्नुपर्ने बताउँदै भनेका छन्, “त्यसको पछाडि नेपाललाई दोस्रो युक्रेन बनाउनका लागि प्रायोजित निर्वाचन नहोला भन्न सकिन्न।”
नेपालमा आगामी २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। यसअघि नै विभिन्न राजनीतिक विश्लेषक र सञ्चार माध्यमहरूले नेपालको निर्वाचनमा बाह्य शक्तिहरूको चासो रहेको टिप्पणी गरिसकेका छन्। केही विश्लेषणले अमेरिकी गहिरो राज्य (डीप स्टेट) ले नेपाललाई आफ्नो सैनिक अड्डा बनाउन चाहेको र त्यसका लागि चुनावी प्रक्रियालाई समेत प्रभावित पार्न खोजेको आरोप समेत लगाएका छन्।
गुरुङले सम्पूर्ण वाम, लोकतान्त्रिक शक्ति र देशभक्तहरूलाई आग्रह गर्दै भनेका छन्, “सबैले निष्पक्ष र स्वतन्त्र निर्वाचन गर्न गराउनका लागि जोड दिँदै निर्वाचनमा हुन सक्ने धाँधलीका विरुद्ध चौतर्फी खबरदारी गर्नुपर्ने देखिन्छ।”
उनको यो भनाइले निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक वृत्तमा विदेशी हस्तक्षेपको आशंका कायमै रहेको संकेत गरेको छ। निर्वाचन आयोगले भने स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन गराउन सबै तयारी पूरा गरिसकेको जनाएको छ।





