इटालीको स्पष्ट अडान : ‘अमेरिकी सैन्य विमानका लागि आधार प्रयोग अस्वीकार, हामी इरानसँग युद्धमा छैनौं’

रोम । इटालीले अमेरिकालाई आफ्नो सैन्य आधार प्रयोग गर्न दिन अस्वीकार गर्ने निर्णय वाशिङ्टन र नाटोसँग भएका विद्यमान सम्झौताअनुरूप रहेको र इटाली इरानसँग युद्धमा नरहेको रक्षामन्त्री गुइडो क्रोसेटोले मंगलबार बताएका छन्। मध्यपूर्वमा जारी द्वन्द्वबारे तल्लो सदनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। यो उनको भनाइ मार्चको अन्त्यमा इरानको लागि उडान भर्दै गरेका दुई अमेरिकी सैन्य विमानलाई सिसिलीको सिगोनेला सैन्य आधार प्रयोग गर्न अनुमति नदिने मन्त्रिपरिषद्को निर्णयपछि आएको हो।
क्रोसेटोले यो निर्णय अन्तर्राष्ट्रिय सम्झौताअनुरूप भएको बताए। उक्त दुई विमानमा हतियार बोकेकोले अमेरिकी अनुरोध अस्वीकार गरिएको र यस्तो अवस्थामा संसदीय स्वीकृति आवश्यक पर्ने उनको भनाइ थियो। युरोपेली संघका अन्य सदस्य राष्ट्रहरूले पनि यस्तै निर्णय गरेको उनले जनाए। सहयोगी राष्ट्रहरूसँगको विद्यमान सम्झौताको सम्मान गर्नुको अर्थ इरानसँगको युद्धमा संलग्न हुनु नभएको पनि उनले स्पष्ट पारे। ‘हामी उन्मादपूर्ण विच्छेद वा बालसुलभ अधीनतामा लिप्त हुन सक्दैनौं, किनकि हामीले पछ्याउने बाटो कानुन, अन्तर्राष्ट्रिय सन्धि, र संविधानको हो,’ उनले थपे।
यसअघि मंगलबारै क्रोसेटोले अमेरिका, इजरायल र इरान सम्मिलित मध्यपूर्व द्वन्द्वको थप उग्रताप्रति चेतावनी दिएका थिए। कोरिएरे डेला सेरा अखबारसँगको अन्तर्वार्तामा उनले हालको अवस्थालाई ‘हालैका दशकहरूमा अभूतपूर्व’ भन्दै विशेषगरी आणविक हतियारको सम्भावित प्रयोगबारे चिन्ता व्यक्त गरे। उनले भने, ‘म डराएको छु कि जुन पहिले नै नाटकीय छ त्यो अझ खराब हुन सक्छ, किनकि मानवताले हामीलाई देखाएको छ कि पागलपनको कुनै सीमा हुँदैन।’





