११ बैशाख २०८३, शुक्रबार

राजदूत चाङको सन्देश: चीन–नेपाल सम्बन्ध युवावस्थामै छ, भविष्य युवाकै हातमा

नेपालको राजनीतिक परिदृश्यमा नयाँ अध्याय सुरु भएकै बेला, नेपालका लागि चीनका राजदूत चाङ माओमिङले एउटा टेलिभिजन मार्फत विशेष सन्देश प्रवाह गरेका छन्। सात दशकभन्दा लामो समयदेखि चल्दै आएको चीन–नेपाल सम्बन्धलाई उनले ‘युवावस्थामा रहेको मित्रता’ को संज्ञा दिएका छन्। यस सन्देशले दुई देशबीचको सम्बन्धलाई थप ताजा र गतिशील बनाउने संकेत गरेको छ।

राजदूत चाङले गत मार्च ५ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनप्रति चीनको हार्दिक बधाई व्यक्त गर्दै भने, ‘चीनले नेपालमा सहज र व्यवस्थित रूपमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनप्रति हार्दिक बधाई दिन्छ। परम्परागत मित्रवत छिमेकीको रूपमा रहेको चीनले नेपालले आफ्नो राष्ट्रिय अवस्थासँग मेल खाने विकासको बाटो आफैँ छनोट गर्ने विषयमा सधैँ सम्मान र समर्थन गर्दै आएको छ।’ यो अभिव्यक्तिलाई इतिहासदेखि चल्दै आएको चीनको निरन्तर इमानदार नीतिको पुनरावृत्तिको रूपमा हेरिएको छ। इतिहासमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि गरिएको दृढ समर्थनदेखि अहिले नयाँ सरकार गठनप्रति व्यक्त गरिएको हार्दिक शुभकामनासम्म, चीनले सधैँ सद्भावका साथ व्यवहार गर्दै आएको उनले बताए।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी एक्कासी उदाएको छ र ठूलो संख्यामा युवा अनुहार संसद्मा प्रवेश गरेका छन्। यसले गत वर्ष काठमाडौं उपत्यकाका सडकमा देखिएको ‘जेन जी आन्दोलन’ को सम्झना गराउँछ – जहाँ युवाहरूले प्लेकार्ड बोकेर परिवर्तनको चाहना व्यक्त गरेका थिए। राजदूत चाङले नेपाली युवाहरू नवप्रवर्तनशील सोच र व्यावहारिक भावनाले राष्ट्रिय निर्माण र विकासमा सहभागी भइरहेको बताउँदै भने, ‘राष्ट्रको भविष्य युवामा छ, राष्ट्रको आशा पनि युवामै छ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्रमा सन्तुलित र गतिशील परराष्ट्र नीति अपनाउने तथा भारत र चीनबीच सक्रिय पुलको भूमिका निर्वाह गर्ने उल्लेख रहेको स्मरण गराउँदै भने, ‘यो हामी दुवै पक्षद्वारा गुणस्तरीय रूपमा बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउने, साझा विकासलाई प्रोत्साहन गर्ने र जनताको कल्याण अभिवृद्धि गर्ने प्रयाससँग मेल खान्छ।’

चीन–नेपाल मित्रता कहिल्यै केवल ठूला कथाहरूको विषय मात्र रहेको छैन। राजदूत चाङले यथार्थका साना–साना तर मार्मिक दृष्टान्तहरू पनि सुनाए। नेपालमा भूकम्पपछिको भग्नावशेषमा चिनियाँ उद्धार टोली सबैभन्दा पहिले पुग्नेहरूमध्ये एक थियो। दुर्गम पहाडी क्षेत्रमा चिनियाँ सहयोगमा निर्मित विद्यालयले बालबालिकालाई उज्यालो कक्षाकोठा प्रदान गरेको छ। पोखराको फेवातालको किनारमा बढ्दो संख्यामा नेपाली युवाले चिनियाँ भाषा सिक्दै चिनियाँ कम्पनीसँग सहकार्यका अवसर फेला पारेका छन्। यी ‘साना तर सुन्दर’ कथाहरू नै दुई देशबीचको सम्बन्धको सबैभन्दा ठोस जग रहेको उनको भनाइ छ।

राजदूत चाङले चीनको पन्ध्रौँ पञ्चवर्षीय योजनाको सन्दर्भ उल्लेख गर्दै भने, ‘चीन उच्चस्तरीय खुलापनलाई निरन्तरता दिनेछ र विश्वसँग अति ठूलो बजारको अवसर साझा गर्न जारी राख्नेछ।’ नेपालका लागि यसको अर्थ डिजिटल अर्थतन्त्र, कृत्रिम बौद्धिकता, स्वच्छ ऊर्जाजस्ता नयाँ क्षेत्रमा थप सहकार्यका सम्भावना रहेको उनले बताए। अझ महत्त्वपूर्ण कुरा, उनले चीनको मन ‘ग्लोबल साउथ’ सँग जोडिएको र चीनको जरा ‘ग्लोबल साउथ’ मै रहेको बताउँदै नेपालले खुला सहकार्यमार्फत थप विकासका अवसरहरू प्राप्त गर्ने विश्वास व्यक्त गरे।

अन्तर्वार्ताको अन्त्यमा राजदूत चाङले थप नेपाली युवा उद्यमी, विज्ञ, शिक्षाविद् र विद्यार्थीलाई चीन भ्रमण, अध्ययन र आदानप्रदानका लागि स्वागत गर्दै भने, ‘आपसी चिनजान र सद्भावमा हिमाल पारिको मित्रतालाई सन्तान परम्परामा हस्तान्तरण गरियोस्।’ नेपाली नेटिजनहरूको भनाइ उद्धृत गर्दै उनले भने – ‘सरकार अर्कै कुरा हो, तर हामी जनताले नेपाल र चीनबीचको सम्बन्ध सुधारियोस् भन्ने चाहन्छौं।’ यो मैत्रीपूर्ण इच्छाशक्ति नै दुई देशबीचको सम्बन्धको जग बनेको छ। सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना गर्दाको प्रतिबद्धता पुस्तौँको यात्रामा कहिल्यै फिका भएको छैन। हिमालय शृङ्खला जति अग्लो भए पनि, यो हिमालभन्दा अग्लो मानवीय हृदयको आपसी जोडलाई रोक्न सक्दैन। चीन–नेपाल मित्रता युवावस्थामै छ – यो नै राजदूत चाङको सन्देशको सारगर्भित अंश हो। अब यो मित्रतालाई युवा पुस्ताले कसरी अगाडि बढाउँछ, त्यसैमा सम्बन्धको भविष्य निर्भर रहनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button