पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ। स्रोतले भनेको छ, ‘अदालतले पक्राउ अनुमति दिइसकेको छ, तर उहाँहरू नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन।’
हाल देउवा दम्पती विदेशमा छन्। २१ फागुनको चुनाव अघि १३ फागुनमा उनीहरू स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए। उनीहरू त्यहाँबाट हङकङ तर्फ लागेको समाचार पनि सार्वजनिक भएको थियो। यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजुमाथि कुटपिट भएको थियो। बुढानीलकण्ठस्थित घरमा आगजनी समेत हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो। विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अघि बढाएको छ।





