बागलुङ नगर अस्पतालको भवन अधुरै : ४ वर्षमा ५५ प्रतिशत मात्र काम, ठेकेदारको बहाना– ‘बजेट अभाव’

बागलुङ । बागलुङ नगर अस्पतालको भवन निर्माण चार वर्ष बितिसक्दा पनि अधुरै छ। दुई तलासम्म ढलान भइसकेको तीन÷चार वर्ष भइसक्यो। निर्माणका लागि तोकेको समय सकिएको पनि तीन वर्ष पुग्न लागेको छ। २०७८ असारमा भएको सम्झौता अनुसार काम भएको भए बागलुङ नगर अस्पताल भवन निर्माण २०८० असार २० मा सम्पन्न भइसक्नुपर्थ्यो। तर अहिलेसम्म यो अस्पताल भवन अधुरै छ।
बागलुङ नगरपालिका–१३ पैयुँपाटामा निर्माणाधीन भवनका लागि ठेकेदारले पटक पटक म्याद थपेर पनि काम नगरेपछि अलपत्र परेको वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए। महालक्ष्मी जुगल संयुक्त निर्माण कम्पनीले दोस्रो पटक थपेको म्याद गत असारमै सकिएको थियो। तेस्रो पटकको म्याद आगामी असारसम्म छ। तर, यतिबेलासम्म अस्पताल भवन निर्माणको काम ५५ प्रतिशत मात्रै भएको इन्जिनियर सोविन घर्तीले बताए। ‘हामीले पटक पटक ताकेता गरेका छौं। तर, ठेकेदार पक्ष आएर कामै गर्दैनन्,’ घर्तीले भने, ‘कहिलेकाँही १०/१२ जना कामदार लिएर काम गरेझैं गर्छन्, फेरि उस्तै अवस्था हुन्छ।’ दुई वर्षअघि नै ५० प्रतिशत सकिएको काम २४ महिनायता ५ प्रतिशत मात्रै थपिएको उनले बताए।
बागलुङ नगरपालिकाले १२ करोड ८७ लाखमा २०७८ असारमा यो भवनको ठेक्का सम्झौता गरेको थियो। ठेकेदारले अहिलेसम्म ४ करोड ५३ लाख भुक्तानी पाएको लेखा अधिकृत प्रेमप्रसाद शर्माले बताए। नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार यो १५ शय्याको अस्पताल हो। भवन निर्माण सम्पन्न भए एक एमजिडिपी डाक्टर, ३ मेडिकल अफिसर, ४ स्टाफ नर्स, ४ हेल्थ असिस्टेन्टसहित ३० जना स्वास्थ्यकर्मी पठाएर यो क्षेत्रको सेवामा खटाउन सकिन्छ। ‘हामीसँग स्विकृत दरबन्दी भए पनि भवन नबनुन्जेल माग गर्न सकिएको छैन,’ खनालले भने, ‘नगर अस्पताल बनिसकेमा नगरबासीले आफ्नै घर छेउमा उपचार सेवा पाउनेछन्।’ यो अस्पताल सम्पन्न भएमा गलकोट क्षेत्र रहेको पैयुँपाटा, नारायणस्थान, अमलाचौर, भकुण्डे, रायडाँडासहित जैमिनी नगरपालिकाका क्षेत्रका बासिन्दाले पनि उपचार सेवा नजिकमा पाउनेछन्।
ठेकेदार कम्पनीका प्रमुख नरेश ओझाले बजेट अभावले काम गर्न नसकेको दाबी गरे। ‘पहिलो चरणमा बजेट अभाव भयो, त्यसैले कामको रफ्तार बढाउन सकिएन, त्यसको असर अहिलेसम्म परेको हो,’ ओझाले भने, ‘नगरबाट बजेट पूरै भुक्तानी हुने अवस्था भए काम सकिन्छ।’ संघीय बजेटको साझेदारीमा नगरपालिकाले सञ्चालन गरेको आयोजनामा भुक्तानी समस्या परेको उनको भनाइ छ। उनले पटक पटक कामदार बढाएर काम सक्ने दाबी गर्दै आएका छन्। वडाध्यक्ष शर्माका अनुसार ठेकेदारले कहिले दसैंतिहार, कहिले चुनाव, कहिले वर्षात भन्दै पटक पटक ढिलाइ गर्दै आएका छन्।
नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने निर्माणको काम सकेमा नगरपालिकाबाट भुक्तानीमा समस्या नपर्ने बताए। चार÷पाँच वर्षदेखि काम अलपत्र छाडेको अवस्थामा बजेटका कारण भन्न नमिल्ने उनको भनाइ छ। नगर उपप्रमुख राजु खड्काले अघिल्लो वर्षकै बजेटमा भुक्तानी दिने योजना बनाए पनि ठेकेदारले काम नगरेको बताए। ‘हामीलाई बजेटको समस्या छैन, काम गरेको भुक्तानी दिन सजिलै सकिन्छ,’ खड्काले भने, ‘बरु भएको बजेट भुक्तानी दिन नपाएर पटक पटक फ्रिज भएको छ।’ नगर गौरवको आयोजना कार्यकाल सकिँदा पनि पूरा गर्न नसकिनेमा प्रश्न उठेको उनले बताए। हाल तत्कालीन पैयुँपाटा स्वास्थ्य चौकीमा नगर अस्पतालको बोर्ड राखेर सञ्चालन भइरहेको छ। भवन अभावले सेवा प्रभावकारी बनाउन नसकिएको नगरप्रमुख श्रेष्ठले बताए।





