सिंहदरबार प्रवेशमा कानुन व्यवसायीलाई ‘गेटपास’ को बाध्यता : बारले प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो– ‘पुरानै व्यवस्था बहाल गरियोस्’

काठमाडौं । नेपाल बार एसोसिएसनले कानुन व्यवसायीलाई सिंहदरबार प्रवेश असहज भएको भन्दै सहजीकरण गरिदिन प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ। प्रशासकीय अदालत सिंहदरबारभित्र रहेकोले बहस गर्न जानुपर्ने अवस्थामा अवरोध गर्न नहुने माग बारले गरेको हो। यसअघि कानुन व्यवसायीलाई नेपाल बार काउन्सिलको परिचयपत्रका आधारमा प्रवेश अनुमति दिने गरिएको थियो। तर प्रशासकीय अदालतले सूचना जारी गर्दै रोक लगाएपछि बुधबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले सिंहदरबार प्रवेशमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका हुन्।
‘विगतमा जस्तै कानुन व्यवसायीहरूको हकमा कानुन व्यवसायीको परिचयपत्रका आधारमा निर्वाध रूपमा सिंहदरबार परिसरभित्र प्रवेशका लागि साविक व्यवस्थाबमोजिम हुन अनुरोध गर्दछौं,’ बारको विज्ञप्तिमा भनिएको छ, ‘कानुन व्यवसायीको हैसियतमा प्रशासकीय अदालत र न्यायिक निकायमा पक्षको प्रतिरक्षाका लागि जान समस्या सिर्जना हुने देखिन्छ।’ आइतबारदेखि सरकारले सिंहदरबार प्रवेशमा कानुन व्यवसायीहरूलाई गेटपास लिनुपर्ने व्यवस्था गरेको थियो। नयाँ व्यवस्थाले वकिलहरूलाई थप झन्झट सिर्जना गरेको बारको गुनासो छ।





