‘खेतीको समयमा मलको लागि याचना गर्नुपर्ने अवस्था नदोहोरियोस्’ : रास्वपा सांसद पाठकको सरकारसँग माग

काठमाडौं । रास्वपाका सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नदोहोरिने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा किसान मुलुकको अन्नदाता भएको भन्दै उनले खेतीको समयमा विगतमा जस्तै मलको लागि याचना गर्नुपर्ने अवस्था फेरि आउन नहुने बताए।
‘किसान हाम्रा अन्नदाता हुन्। विगतमा झैं खेतीको समयमा किसानले रासायनिक मलको लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस्। यस वर्ष सरकारले के तयारी गरेको छ ? सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
सांसद पाठकले मल आपूर्तिका लागि सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन समेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। किसानलाई समयमै मल नपुग्दा उत्पादनमा असर पर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। विगतमा मल अभावका कारण किसानले ठूलो समस्या भोगेको उनले स्मरण गराए।





