कालिका नगरपालिका र अमेरिकाको फेयरफ्याक्स सिटीबीच सहकार्य विस्तारको छलफल, जीपीएसदेखि फोहर व्यवस्थापनसम्म प्रस्ताव

चितवन । चितवनको कालिका नगरपालिका र अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स सिटीबीच सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ। आज आयोजित भेटघाटमा कालिका नगरपालिकाको टोलीले फेयरफ्याक्स सिटीकी मेयर क्याथरिन रीडसँग प्रविधि प्रयोग र उच्चस्तरीय विकासका अभ्यासबारे जानकारी लिँदै अनुभव आदानप्रदान गरेको हो।
भेटका क्रममा कालिका नगरपालिकामा कार्यान्वयन भइरहेको जीपीएस प्रणाली, फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणलगायतका कार्यक्रमहरूमा सहकार्य गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। उक्त प्रस्तावप्रति मेयर रीड तथा उनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ।
दुवै पक्षबीच आगामी दिनमा पारस्परिक सहकार्यलाई थप मजबुत बनाउँदै दिगो सम्बन्ध विस्तार गर्ने सहमति समेत भएको छ। सो अवसरमा दुवै पक्षबीच मायाको चिनो आदानप्रदान गरिएको थियो।
कालिका नगरपालिकाको तर्फबाट उपयुक्त समयमा नेपाल तथा नगरपालिकाको भ्रमणका लागि निमन्त्रणा दिइएकोमा मेयर रीडले खुसी व्यक्त गर्दै उपयुक्त समय मिलाएर आफ्नो टोलीसहित नेपाल आउने प्रतिबद्धता जनाइन्। साथै उनले कालिका नगरपालिकाको टोलीलाई पुनः फेयरफ्याक्स सिटी भ्रमणका लागि निमन्त्रणा समेत दिएकी छन्।





