११ बैशाख २०८३, शुक्रबार

उच्च गुणस्तरीय विकासको ‘चिनियाँ ढोका’ नेपालका लागि खुला, प्रधानमन्त्रीसँगको भेटपछि राजदूत चाङको आशावादी अभिव्यक्ति

काठमाडौं । चीनले आफ्नो उच्च गुणस्तरीय विकास र उच्चस्तरीय खुलापनका उपलब्धिहरू मार्फत नेपालसँग सहकार्य र साझेदारी गर्न तत्पर रहेको स्पष्ट सन्देश दिएको छ। प्रधानमन्त्री बालेन्द्र साहले बिहीबार सिंहदरबारमा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग गरेको संयुक्त भेटवार्तापछि नेपालस्थित चिनियाँ राजदूत चाङ माओमिङले यस्तो आशावादिता व्यक्त गरेका हुन्।

चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको औपचारिक विज्ञप्तिमा भनिएको छ, “नेपालमा रहेको कूटनीतिक समुदायसहित प्रधानमन्त्री बालेन्द्र साहसँग भेटघाट गर्न पाउँदा सम्मानित महसुस भएको छ। चीनको उच्च गुणस्तरीय विकास र उच्चस्तरीय खुलापनका उपलब्धिहरू नेपालसँग साझेदारी गर्न हामी तत्पर छौं।”

विज्ञप्तिमा थप उल्लेख गरिएको छ, “हाम्रो गहिरिँदो रणनीतिक साझेदारी—विशेषगरी विकास सहकार्यमार्फत—दुवै देशका जनताले लाभ उठाउने विश्वास लिएका छौं।”

प्रधानमन्त्री बालेन्द्र साहले बिहीबार २० भन्दा बढी देशका कूटनीतिक नियोग प्रमुखहरूसँग एकैपटक संयुक्त भेटवार्ता गरेका थिए। सोही अवसरमा राजदूत चाङ पनि सहभागी भएका थिए। यो भेटलाई कूटनीतिक वृत्तमा नयाँ अभ्यासको रूपमा हेरिएको छ।

यसअघि बुधबार मात्र राजदूत चाङ र परराष्ट्रमन्त्री डा. शिशिर खनालबीच परराष्ट्र मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको थियो। लगातार दुई दिन भएका यी उच्चस्तरीय भेटघाटले चीन-नेपाल सम्बन्धको निरन्तरता र प्रगाढतालाई सङ्केत गरेको छ।

चिनियाँ पक्षले ‘उच्च गुणस्तरीय विकास’ र ‘उच्चस्तरीय खुलापन’ जस्ता शब्दावली प्रयोग गर्दै नेपालसँगको विकास सहकार्यलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएको छ। यसले दुई छिमेकी राष्ट्रबीचको रणनीतिक साझेदारी थप सुदृढ हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button