११ बैशाख २०८३, शुक्रबार

‘मेरो जीवन खुला पुस्तक हो, भ्रममा नपर्नुस्’, सम्पत्ति शुद्धीकरणको चर्चाबीच शेरबहादुर देउवाको विदेशबाट स्पष्टीकरण

काठमाडौं । आफू र आफ्नो परिवारबारे सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु भएको भनी सञ्चारमाध्यममा आएका समाचारप्रति पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कडा असन्तुष्टि जनाउँदै त्यसलाई ‘भ्रामक र झूटा प्रचारबाजी’ को संज्ञा दिएका छन्। हाल स्वास्थ्य उपचारको सिलसिलामा विदेशमा रहेका देउवाले एक औपचारिक वक्तव्य जारी गर्दै आफ्नो जीवनलाई ‘खुला पुस्तक’ को रूपमा चित्रण गरेका छन्।

देउवाले भनेका छन्, “म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ। यस विषयमा भ्रामक र झूटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु। नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेका छौं।”

पूर्वप्रधानमन्त्री देउवाले आफ्नो राजनीतिक विरासतलाई स्मरण गर्दै भ्रष्टाचारविरुद्ध आफूले खेलेको ऐतिहासिक भूमिकाको चर्चा गरेका छन्। उनले भने, “भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदितै छ।”

देउवाले देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका र पारदर्शीताको मान्यताका लागि आफूले सिंगो जीवन संघर्षमै बिताएको उल्लेख गरेका छन्। “मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ,” उनले भने।

हाल विदेशमा रहेर स्वास्थ्य उपचार गराइरहेको जानकारी दिँदै देउवाले उपचारको क्रम अझै जारी रहेको बताएका छन्। उनले आम नागरिक र शुभेच्छुकहरूलाई अपिल गर्दै भने, “बास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरंजना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।”

पछिल्लो समय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उच्चपदस्थ पूर्वपदाधिकारीहरूको सम्पत्ति विवरणमाथि छानबिन अघि बढाएको चर्चाका बीच देउवाको यो स्पष्टीकरण आएको हो। उनको यो वक्तव्यले राजनीतिक वृत्तमा नयाँ बहसको ढोका खोलेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button