ओली-लेखक आजै छुट्ने सम्भावना बलियो, प्रहरी-वकिलको ‘मुद्दा नचल्ने’ अडानपछि महान्यायाधिवक्ताको निर्णयको पर्खाइ

काठमाडौं । जेनजी आन्दोलनको घटनामा जिल्ला अदालतले तेस्रोपटक थप गरेको ५ दिने हिरासत म्याद र थप म्याद नदिन सर्वोच्च अदालतले दिएको परमादेशबीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक आजै रिहा हुने सम्भावना प्रबल देखिएको छ।
गत चैत १४ गतेदेखि प्रहरी हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता लेखकको भाग्य आज टुङ्गो लाग्ने भएको छ। काठमाडौं प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयले गौरीबहादुर कार्की प्रतिवेदनका आधारमा जेनजी आन्दोलनको दोषी देखाएर ज्यान मुद्दा चलाउने कानुनी आधार नदेखिएको स्पष्ट अडान राखेपछि मुद्दा अघि बढाउने विषय अन्योलमा परेको थियो।
प्रहरी र सरकारी वकिलले ‘यदि जबरजस्ती मुद्दा चलाइयो भने मुलुकको सुरक्षा व्यवस्था नै चौपट हुने’ तर्क प्रस्तुत गरेपछि यस विषयमा नवनियुक्त महान्यायाधिवक्ता डा. नारायण कँडेलसँग छलफल गर्नुपरेको थियो। महान्यायाधिवक्ता कार्यालयस्थित उच्च स्रोतका अनुसार कँडेलले ‘जे त पर्ला, माथिको आदेश हो मुद्दा लानैपर्छ’ भन्ने राय व्यक्त गरेको जानकारी प्राप्त भएको छ।
यद्यपि, प्रहरी र वकिलको अडान नमिलेपछि अन्ततः यी दुई ठूला दलका शीर्ष नेताहरू तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको जस्तै हाजिर जमानीमा छुट्न लागेको उच्च स्रोतले जनाएको छ।
सर्वोच्च अदालतले यसअघि नै हिरासत म्याद थप्न नमिल्ने परमादेश जारी गरिसकेको छ। आज जिल्ला अदालतले तेस्रोपटक थप गरेको ५ दिने म्यादको अन्तिम दिन भएकाले ओली र लेखकलाई रिहा गर्नुको विकल्प नदेखिएको कानुनी जानकारहरूको भनाइ छ। यदि आज उनीहरू रिहा भएमा जेनजी आन्दोलनको मुद्दामा सरकारले ठूलो कानुनी धक्का खाने र यसले मुलुकको राजनीतिक समीकरणमा समेत नयाँ तरङ्ग ल्याउने विश्लेषकहरूको आकलन छ।





