युक्रेनी ड्रोनमा जापानी लगानीप्रति मस्को आक्रोशित, राजदूतलाई तम्बी थमाउँदै रुसको चेतावनी, ‘सम्बन्ध अभूतपूर्व न्यून विन्दुमा’

मस्को । युक्रेनी लडाकु ड्रोन निर्माता कम्पनीसँग टोकियोस्थित टेरा ड्रोन कर्पोरेसनले लगानी सम्झौता गरेको विवरण सार्वजनिक भएपछि रुसले जापानी राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर तीव्र असन्तुष्टि जनाएको छ। अप्रिल ८ का दिन मस्कोस्थित जापानी राजदूत अकिरा मुतोलाई रुसी विदेश मन्त्रालयमा तामेल गराउँदै उक्त कदमलाई ‘खुल्ला रूपमा शत्रुतापूर्ण’ र ‘नागरिक सुरक्षाप्रति हानिकारक’ भन्दै कडा विरोधपत्र बुझाइएको छ।
रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युक्रेनले रुसी भूभागमा नागरिक पूर्वाधार र शान्तिपूर्ण बासिन्दामाथि ड्रोन आक्रमण गरी गरिरहेको व्यवस्थित आपराधिक उत्तेजनाले हामीलाई यस्तो कदमलाई हाम्रो मुलुकको सुरक्षा हित, विशेषगरी नागरिक संरक्षणप्रति खुला रूपमा शत्रुतापूर्ण र हानिकारक मान्ने पूर्ण आधार दिएको छ।”
द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाबारेको छलफलका क्रममा रुसी पक्षले जोड दिँदै भन्यो, “आधिकारिक टोकियोले अवलम्बन गरेको अमैत्रीपूर्ण नीति—जसलाई दुर्भाग्यवश सानाए ताकाइचीको नयाँ मन्त्रिपरिषद्ले पनि निरन्तरता दिइरहेको छ—का कारण दुई देशबीचको सम्बन्ध अभूतपूर्व रूपमा न्यून विन्दुमा पुगेको छ।”
रुसले जापानी पक्षलाई स्पष्ट सन्देश दिएको छ कि यदि टोकियो अन्तर्राज्यीय संवाद पुनः सुरु गर्न वास्तविक रूपमा इच्छुक छ भने त्यसलाई शब्दले होइन, ठोस कार्य र व्यावहारिक कदम चालेर प्रमाणित गर्नुपर्नेछ। यो घटनाक्रमले युक्रेन युद्धको पृष्ठभूमिमा रुस र जापानबीचको सम्बन्ध झनै चिसिँदै गएको सङ्केत गरेको छ।





