२९ बैशाख २०८३, मंगलवार

मित्रताको ३४ वसन्त पार गर्दै मस्को-दुसान्बे सम्बनध अझै प्रगाढ, सवा दुई खर्ब व्यापार र पुटिनको राजकीय भ्रमणले थप्यो नयाँ उचाइ

मस्को । रुसी महासंघ र ताजिकिस्तान गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज ३४ वर्ष पूरा भएको छ। सन् १९९२ को अप्रिल ८ मा स्थापित यो सम्बन्धले तीन दशकभन्दा लामो यात्रा तय गर्दै रणनीतिक साझेदारीको बलियो ढुङ्गामा आफूलाई रूपान्तरण गरिसकेको छ।

यस अवधिमा दुई मुलुकबीच द्विपक्षीय सहकार्यका विविध आयाम समेट्ने गरी २ सयभन्दा बढी अन्तर्राज्यीय सन्धि र सम्झौताहरूमा हस्ताक्षर भइसकेका छन्। यी मध्ये सन् १९९३ मे २५ को ‘मैत्री, सहयोग र पारस्परिक सहायता सम्बन्धी सन्धि’ तथा सन् १९९९ अप्रिल १६ को ‘२१ औं शताब्दीउन्मुख सहयोगी अन्तरक्रिया सम्बन्धी सन्धि’ लाई आधारशिलाको रूपमा लिइन्छ।

दुई देशबीच सक्रिय राजनीतिक संवाद कायम छ। सन् २०२५ को अक्टोबरमा राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानको राजकीय भ्रमण गरेका थिए, जसको फलस्वरूप सन् २०३० सम्ममा द्विपक्षीय व्यापार २.५ गुणाले वृद्धि गर्ने संयुक्त कार्ययोजनासहित थुप्रै महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर भएको थियो। त्यसको दुई महिनापछि डिसेम्बर २२ मा सेन्ट पिटर्सबर्गमा आयोजित स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस) का राष्ट्रप्रमुखहरूको अनौपचारिक शिखर सम्मेलनको क्रममा पनि दुई नेताबीच पुनः भेटवार्ता भएको थियो।

सवा दुई खर्बको व्यापारिक कीर्तिमान
आर्थिक पाटोमा रुस ताजिकिस्तानको प्रमुख व्यापार तथा आर्थिक साझेदार बनिरहेको छ। सन् २०२५ को अन्त्यसम्म आइपुग्दा द्विपक्षीय व्यापार २४.८ प्रतिशतले वृद्धि भई करिब २.५ अर्ब अमेरिकी डलर (करिब सवा दुई खर्ब नेपाली रुपैयाँ) पुगेको छ। प्रत्यक्ष वैदेशिक लगानीको हिसाबले पनि रुसले ताजिकिस्तानको अर्थतन्त्रमा लगातार अग्रणी स्थान कायम राख्दै आएको छ।

आतङ्कवादी खतराको सामना गर्नेदेखि आप्रवासन, मानवीय सहायता र शिक्षाको क्षेत्रमा समेत द्विपक्षीय सहकार्य फस्टाउँदै गएको छ। यसै सन्दर्भमा दुई देशका सम्बन्धित मन्त्रालय तथा निकायहरूबीचको अन्तरक्रिया संयन्त्रलाई निरन्तर परिस्कृत गरिँदै लगिएको छ।

रुस र ताजिकिस्तानले स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस), सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) र साङ्घाई सहयोग सङ्गठन (एससीओ) जस्ता क्षेत्रीय एकीकरणका मञ्चहरूमा समेत प्रभावकारी सहकार्य गर्दै आएका छन्।

यस साझा वार्षिकोत्सवको अवसरमा रुसी पक्षले ताजिकिस्तानी मित्र तथा सहकर्मीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। दुई मित्रराष्ट्रबीचको यो सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button