३० चैत्र २०८२, सोमबार

उरुम्कीमा सात दिने गोप्य वार्तापछि काबुल-इस्लामाबाद सम्बन्ध सुधारको बाटो खुल्यो

चीनको मध्यस्थतामा त्रिपक्षीय सहमतिको घोषणा

बेइजिङ । चीनको मध्यस्थतामा अफगानिस्तान र पाकिस्तानबीच सम्बन्ध सुधारको ढोका खुलेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिँदै चीनको सिन्च्याङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीमा अप्रिल १ देखि ७ सम्म तीन पक्षबीच अनौपचारिक वार्ता सम्पन्न भएको बताइन्।

त्रिपक्षीय वार्तामा तीनै देशका परराष्ट्र, रक्षा र सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए। प्रवक्ता माओका अनुसार, चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी, पाकिस्तानी उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मोहम्मद इशाक डार र अफगान परराष्ट्रमन्त्री मौलवी अमीर खान मुत्ताकीबीच भएको सहमतिका आधारमा यो छलफल स्पष्ट, व्यावहारिक र सुमधुर वातावरणमा सम्पन्न भयो।

माओले भनिन्, “यसले वार्ता समस्या समाधानोन्मुख, परिणाममुखी र कार्यमुखी दृष्टिकोणमा अघि बढेको देखाउँछ।” उनले अफगान र पाकिस्तानी प्रतिनिधिमण्डलले चीनले अघि सारेको विश्वव्यापी सुरक्षा पहल र एसियाली सुरक्षा नमुनाको उच्च प्रशंसा गरेको बताइन्। विशेषगरी, मतभेदका बाबजुद समानता कायम राख्ने, एकअर्कालाई समान ठान्ने र विवादको शान्तिपूर्ण समाधानका लागि संवाद तथा परामर्शको वकालत गर्ने चिनियाँ दृष्टिकोणलाई दुवै पक्षले सराहना गरेका छन्।

प्रवक्ताका अनुसार, अफगान र पाकिस्तानी पक्षले आयोजक राष्ट्रको रूपमा चीनको मध्यस्थता प्रयास र विचारशील व्यवस्थाप्रति धन्यवाद ज्ञापन गर्दै चीनको निष्पक्ष एवं न्यायोचित अडान र अधिकतम प्रयासको प्रशंसा गरे। दुवै पक्षले संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तको पालना गर्ने प्रतिबद्धता दोहोर्याउँदै पारस्परिक मतभेद यथाशीघ्र समाधान गर्न, द्विपक्षीय सम्बन्ध सुधार गर्न र परिस्थितिलाई थप जटिल बनाउने कुनै पनि कार्य नगर्ने सहमति जनाएका छन्।

आतङ्कवाद नै प्रमुख मुद्दा
प्रवक्ता माओले चीनले आतङ्कवाद नै अफगानिस्तान-पाकिस्तान सम्बन्धलाई प्रभावित पार्ने केन्द्रीय मुद्दा भएकोमा जोड दिएको बताइन्। तीनै पक्षले उरुम्की प्रक्रियालाई सार्थक मान्दै यसबारे निरन्तर सम्पर्क र संवाद कायम राख्न सहमति जनाएका छन्। साथै, अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धका समस्या समाधान गर्ने विस्तृत योजनाबारे छलफल गर्न र प्रमुख तथा प्राथमिकताका मुद्दाहरूको पहिचान गर्न पनि तीन पक्ष सहमत भएका छन्।

अफगानिस्तान र पाकिस्तानले दुई देश मुस्लिम भाइ तथा छिमेकी रहेको कुरा दोहोर्याएको उल्लेख गर्दै माओले भनिन्, “अशान्त र परिवर्तनशील अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिबीच अफगानिस्तान र पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु दुवै देशका जनता र दक्षिण एसियाको शान्ति तथा स्थायित्वका लागि अत्यन्त महत्त्वपूर्ण छ।”

चीनले दुवै पक्षसँग निरन्तर सम्पर्क राख्न, संवादको मञ्च उपलब्ध गराउन र अफगानिस्तान-पाकिस्तान सम्बन्ध सुधार तथा त्रिपक्षीय व्यावहारिक सहकार्य अभिवृद्धिका लागि रचनात्मक भूमिका निर्वाह गर्न तत्परता व्यक्त गरेको छ। यो वार्ताले दक्षिण एसियाको जटिल सुरक्षा परिदृश्यमा चीनको बढ्दो कूटनीतिक सक्रियता र मध्यस्थकर्ताको भूमिकालाई थप स्पष्ट पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button