डेढ वर्षको कानुनी निद्रापछि केम सोखाको पुनरावेदनमा ब्युँतियो अदालत
२७ वर्ष कैद सजायविरुद्धको सुनुवाइ सुरु

नोम पेन्ह । कम्बोडियाका पूर्व विपक्षी नेता केम सोखाको राजद्रोह मुद्दाको पुनरावेदन सुनुवाइ १८ महिनाभन्दा लामो विलम्बपछि बुधबार पुनः सुरु भएको छ। उनका एक वकिलले यो जानकारी दिएका छन्।
सर्वोच्च अदालतबाट विघटन गरिएको कम्बोडिया राष्ट्रिय उद्धार पार्टी (सीएनआरपी) का पूर्व सभापति समेत रहेका केम सोखालाई सन् २०२३ मा नोम पेन्ह नगर अदालतले राजद्रोहको अभियोगमा २७ वर्ष कैद सजाय सुनाएको थियो। तथापि, उक्त सजाय घरमै नजरबन्दमा बसेर भोग्ने आदेश दिइएको थियो।
७२ वर्षीय पूर्व विपक्षी नेतालाई वैध कम्बोडियन सरकारलाई अपदस्त गर्ने प्रयासस्वरूप कुनै ‘विदेशी शक्ति’ सँग षड्यन्त्र रचेको अभियोगमा दोषी ठहर गरिएको थियो। सन् २०१७ मा उनी पक्राउ परेका थिए। नोम पेन्ह नगर अदालतले उनलाई आजीवन राजनीतिमा संलग्न हुन प्रतिबन्ध समेत लगाएको छ।
केम सोखाले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेका थिए। नोम पेन्ह पुनरावेदन अदालतले सन् २०२४ को जनवरीमा उनको पुनरावेदन सुनुवाइ सुरु गरेको भए पनि सोही वर्षको सेप्टेम्बरदेखि यो प्रक्रिया अवरुद्ध हुँदै आएको थियो।
केम सोखाको मुद्दालाई अन्तर्राष्ट्रिय मानव अधिकारवादी सङ्घसंस्था र पश्चिमा मुलुकहरूले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको दीर्घकालीन शासनविरुद्धको राजनीतिक प्रतिशोधको रूपमा लामो समयदेखि आलोचना गर्दै आएका छन्। यद्यपि, कम्बोडियन सरकारले भने यो पूर्णतः न्यायिक प्रक्रियाअन्तर्गतको विषय भएको दाबी गर्दै आएको छ। पुनरावेदन सुनुवाइको पुनरारम्भले कम्बोडियाको राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ।





