११ बैशाख २०८३, शुक्रबार

‘टीओबीको नारा र दलाई लामाको शुभकामना’: बादलको प्रश्नको वर्षा

भदौ घटनालाई 'डिजाइन्ड षड्यन्त्र' को संज्ञा

पोखरा, कास्की । नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनालाई पूर्वनियोजित र योजनाबद्ध षड्यन्त्रको संज्ञा दिएका छन्। कास्कीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री समेत रहेका थापाले उक्त घटनाका विभिन्न पक्षलाई लिएर प्रश्नै प्रश्नको झरी लगाए।

थापाले भेलामा सोधे, “फ्री तिब्बतको नारा ती टीओबीहरूले किन लगाए? दलाई लामाले बारबरा सरकारलाई किन शुभकामना दिए? तपाईंले त्यहाँ सोच्नुभएको छ? त्यसकारणले यो सत्तापलटमा यो सबै चिज डिजाइन गरे उनीहरूले।”

उनले भदौ २३ र २४ गतेका घटनाक्रमलाई स्मरण गर्दै पुराना राजनीतिक दलहरूका कार्यालय र नेताहरूका निवासहरू नै निसानामा परेको तथ्यलाई औंल्याए। उनले भने, “किन नेकपा एमालेका कार्यालय जलाइयो? हाम्रो अध्यक्षको निवासहरू जलाइयो, माओवादीको अध्यक्षको निवास किन जलाइयो? कार्यालय किन जलाइयो? कांग्रेसको कार्यालय किन जलाइयो? तिनका नेताहरूका निवासहरू किन जलाइयो? किन उनीहरूमाथि भौतिक साङ्घातिक आक्रमण गरियो? त्यो लामो तयारीको साथमा एउटा डिजाइनमा गरिएको थियो।”

कार्यवाहक अध्यक्ष थापाले लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको प्रणाली ल्याउने शक्तिहरूमाथि नै योजनाबद्ध प्रहार भइरहेको दाबी गरे। उनले नेकपा एमालेको नेतृत्वमा भएको आर्थिक वृद्धिलाई स्मरण गर्दै भने, “नेकपा एमालेको नेतृत्वमा २०७४ देखि हामीले जे गरेका थियौं, त्यसबेला ७ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि दर थियो। द्रुत गतिमा विकासको दिशातिर गइराखेको थियो। नेकपा एमाले अथवा अरू राजनीतिक दलहरूले पनि नाकाबन्दीको विरुद्ध चाहिँ उनीहरू चट्टानझैं उभिए। बाह्य शक्तिहरूको एकाधिकारलाई, रिसोर्सेज कब्जा गर्ने र यहाँको मार्केट कब्जा गर्ने र नेपाललाई आत्मसमर्पण गराउने दबाब दिएका थिए, त्यसमा नेकपा एमाले लगायतका अरू राजनीतिक दलहरू चट्टानझैं उभिए। त्यसकारण उनीहरूलाई सिद्ध्याइएको हो।”

यसअघि संसद् बैठकमा समेत थापाले भदौ २३ र २४ को आन्दोलन योजनाबद्ध भएको र बालेन्द्र साह नेतृत्वको वर्तमान सरकार पनि योजनाबद्ध तरिकाले नै ल्याइएको दाबी गरिसकेका छन्। कार्यवाहक अध्यक्ष थापाको यो अभिव्यक्तिले जेनजी आन्दोलनको स्वरूप र त्यसको पृष्ठभूमिमाथि नयाँ बहसको ढोका खोलेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button