बादलको ‘भूकम्पीय’ अभिव्यक्तिले एमालेभित्रको दक्षिणपन्थी ‘बाहिरियो’
पोखरामा भन्नुभयो: 'लुकेकाहरू एक्सपोज भए'

पोखरा, कास्की । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले गत चैत १९ गते संसद्मा दिएको अभिव्यक्तिले पार्टीभित्र लुकेर बसेका दक्षिणपन्थी प्रवृत्तिहरूलाई सतहमा ल्याइदिएको दाबी गरेका छन्। पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा बुधबार पोखरामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले आफूले संसद्मा पार्टीकै आधिकारिक लाइन बोलेको तर त्यसले पार्टीभित्रको अन्तरसङ्घर्षलाई पर्दाफास गरिदिएको बताए।
उपाध्यक्ष विष्णु पौडेलले आफ्नो अभिव्यक्तिप्रति जनाएको असहमतिप्रति सङ्केत गर्दै बादलले पोखरामा भने, “पार्टीको उपाध्यक्षले एउटा सार्वजनिक स्टेटमेन्ट जारी गर्नुभयो कि दल नेताले संसद्मा जुन धारणा राख्नुभयो, त्यो पार्टीका स्थापित मान्यता विपरीत छ। त्यसमा घोर आपत्ति छ। यो बारेमा चाहिँ सचिवालयको बैठक राखेर उपयुक्त निर्णय लिइने छ भनेर।”
उनले यो घटनाक्रमलाई पार्टीभित्रको अन्तरसङ्घर्षको संज्ञा दिँदै भने, “यहाँ हेर्नुहोस् है अन्तरसङ्घर्षको स्थिति कस्तो छ। मान्छेहरू चाहिँ त्यो वक्तव्यले उत्तेजित भए। भित्र लुकेका थिए, बाहिर देखिए। त्यो स्टेटमेन्टले चाहिँ पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई चाहिँ एक्सपोज गरेको मात्रै हो। कन्फ्युज भएको होइन। त्यो कन्फ्युजनलाई चाहिँ प्रस्ट पार्न स्टेटमेन्ट दिइएको हो।”
संसद्मा के भनेका थिए बादलले?
गत चैत १९ गतेको संसद् बैठकमा बादलले भनेका थिए, “यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क-कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो।” यही अभिव्यक्तिलाई लिएर उपाध्यक्ष विष्णु पौडेलले पार्टीको स्थापित नीतिविपरीत भएको भन्दै आपत्ति जनाएका थिए।
भोलिपल्टै बसेको एमाले सचिवालय बैठकले बादलको अभिव्यक्तिलाई सच्याउँदै नेपाली सेना, कर्मचारीतन्त्र र अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको कुनै वैरभाव नरहेको र सम्बन्ध पूर्ववत् मित्रवत रहने स्पष्ट पारेको थियो। महासचिव शङ्कर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, “मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत रहेको छ।”
‘पार्टीकै लाइन बोलेको हुँ’— बादलको अडान
तर बादलले पोखराको भेलामा आफ्नो अडान यथावत राख्दै भने, “पार्टीको निर्णयलाई लागू गरेको मैले। बोल्डले, दृढतापूर्वक लागू गरेको मैले। त्यो वास्तवमा देश र जनताका दुस्मनहरूलाई बोल्डली प्रहार गरिएको थियो। ठूलो आक्रमण गरेको हो त्यसदिन।” उनले आफूले संसद्मा दिएको अभिव्यक्ति पार्टीको आधिकारिक लाइन अनुरूप नै भएको जिकिर गरे। बादलको यो ताजा अभिव्यक्तिले एमालेभित्रको वैचारिक बहस र शक्ति सङ्घर्षलाई थप सतहमा ल्याइदिएको छ।





