२६ चैत्र २०८२, बिहीबार

साँझपख शहरमा ‘खुँडा र खुकुरी’को आतङ्क

पोखरामा एकल महिला व्यवसायीको बाटैमा हत्या, पाटनमा दाजुभाइमाथि चक्कु प्रहार

काठमाडौं । पर्यटकीय नगरी पोखराको मुटु नजिकैको व्यस्त बाटोमा हिजो साँझ एउटा यस्तो रक्तरञ्जित घटना भयो, जसले समग्र कास्कीको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आएकी एकल महिला ४२ वर्षीया सिर्जना पौडेल केसीको खुकुरी प्रहार गरी ज्यान लिइएको छ। यता उपत्यकाको ललितपुरस्थित पाटनको ऐतिहासिक कृष्णमन्दिर अगाडि पनि चक्कु प्रहारबाट दुई दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ। एकै साँझ मुलुकका दुई प्रमुख सहरमा भएका यी हिंसात्मक वारदातले जनमानसमा त्रासको वातावरण सिर्जना गरेको छ।

प्रहरीका अनुसार, पोखरा महानगरपालिका–५ मालेपाटन स्थायी घर भए पनि हाल खपौंदीस्थित आफ्नै अर्को घरमा बस्दै आएकी सिर्जना पौडेल केसी हिजो साँझ ७ बजेतिर घर फर्किने क्रममा थिइन्। उनी पैदल यात्रामा पृथ्वीचोकको पौडेल सभागृहचोकबाट सृजनाचोकतर्फ जाँदै गर्दा शिवालय चोकतर्फ जाने गल्लीको मोडमा पुगेकी थिइन्। त्यही क्रममा एकाएक आएका अज्ञात व्यक्तिले उनको शरीरमा खुकुरी प्रहार गरेको बताइएको छ। घटना यति आकस्मिक थियो कि आसपासका मानिसहरू केही बुझ्न नपाउँदै सिर्जना रक्ताम्मे अवस्थामा ढलेकी थिइन्।

आक्रमणकारी मौकाको फाइदा उठाउँदै फरार भएको छ। गम्भीर घाइते सिर्जनालाई तत्कालै उद्धार गरी गण्डकी मेडिकल कलेज (जीएमसी) पुर्याइएको भए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन्। अस्पताल स्रोतका अनुसार उपचारकै क्रममा उनको मृत्यु भयो। घटनाको जानकारी पाउनासाथ पोखरा प्रहरीको टोली घटनास्थलमा पुगेर प्रमाण संकलन गर्नुका साथै फरार हत्याराको गहन खोजीमा जुटेको छ।

यता, ललितपुरमा पनि हिजै साँझ बेग्लै तर उत्तिकै हृदयविदारक घटना भयो। पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर परिसरमा चक्कु प्रहार गरी दुई दाजुभाइको विभत्स हत्या भएको छ। मृत्यु हुनेहरूमा झापा घर भएका ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ रहेका छन्।

ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार, चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। घटनाको सुरुवात एउटा सामान्य ‘रङ नम्बर’ अर्थात् गलत फोनबाट भएको खुलेको छ। बुधबार साँझ इमाडोल बस्ने नेम्बाङ दाजुभाइले फोन गर्दा झुक्किएर अपरिचित व्यक्ति सञ्जीव नेपालीको मोबाइलमा पुगेको थियो। फोनमा कुराकानीकै क्रममा दुवै पक्षबीच भनाभन र विवाद बढ्दै गएपछि सञ्जीवले उनीहरूलाई पाटन आउन चुनौती दिएका थिए।

फोनको विवादपछि पाटन पुगेका नेम्बाङ दाजुभाइमाथि मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग गरिने घरेलु हतियार (चक्कु)ले प्रहार गरेका थिए। घटनामा संलग्न मुख्य अभियुक्त सञ्जीव नेपालीसहित दुई जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

विगत केही समययता विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूको बिगबिगी र सहरी क्षेत्रमा बढ्दो अराजकताको ग्राफले सर्वसाधारण त्रसित बनेका बेला यी दुई घटनाले सुरक्षा चुनौतीलाई झनै पेचिलो बनाइदिएको छ। “हिँडेर घर फर्किनु पनि महाभारत भइसकेको छ,” स्थानीय बासिन्दाहरूको भनाइले वर्तमान अवस्थाको पीडा बोल्छ। यी घटनाले स्तब्ध पोखरा र ललितपुरवासीले प्रशासन र सरकार थप आतङ्क फैलिन नदिन कडा कदम चालोस् भन्ने माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button