११ बैशाख २०८३, शुक्रबार

मन्त्रीको संकेत, टेलिकमको २८ दिने प्याकेज अब ३० दिनकाे, ग्राहकलाई महिनाभरिको राहत

काठमाडौं । लामो समयदेखि ‘२८ दिनको महिना’ को मार खेपिरहेका नेपाल टेलिकम (एनटीसी) का प्रिपेड ग्राहकले अन्ततः राहतको सास फेर्न पाएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री सक्रिय पहल र निर्देशनपछि एनटीसीले आफ्नो २८ दिन अवधिको लोकप्रिय प्रिपेड प्याकेजको समयावधि बढाएर ३० दिन पुर्याएको छ। मंगलबार रातिदेखि नै ‘कम्बो–२९९ प्याक’ मा यो नयाँ व्यवस्था लागू भइसकेको कम्पनीले जनाएको छ।

यो निर्णय सञ्चारमन्त्री  बिक्रम तिमिल्सिना र नेपाल टेलिकम व्यवस्थापनबीच भएको छलफलको प्रत्यक्ष उपज हो। मन्त्रीले उपभोक्ताको गुनासोलाई गम्भीरतापूर्वक लिँदै प्याकेजको म्याद ३० दिन नै कायम गर्न टेलिकमलाई निर्देशन दिएका थिए। सोही निर्देशनको पालना गर्दै एनटीसीले तत्काल सेवा समायोजन गरेको हो।

नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले हाललाई एउटा प्याकेजको समयावधि बढाइएको र आगामी वैशाख ११ गतेभित्र यो अवधिका सबै प्रिपेड प्याकेजलाई ३० दिनकै बनाइसक्ने प्रतिबद्धता जनाइन्। “ग्राहकको सहजतालाई मध्यनजर गर्दै हामीले यो कदम चालेका हौं। अब महिनाको एकपटक रिचार्ज गरे पुग्ने भएकाले प्रयोगकर्तालाई पटक–पटकको झन्झटबाट मुक्ति मिल्नेछ,” निमित्त प्रबन्ध निर्देशक डंगोलले भनिन्।

यस व्यवस्थाले एनटीसीका लाखौं प्रिपेड ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने देखिन्छ। उही मूल्यमा थप दुई दिनको सेवा अवधि पाउँदा ग्राहकले आफ्नो डेटा, भ्वाइस प्याक तथा एसएमएस सुविधा लम्ब्याउन सक्नेछन्। यसले विशेषगरी मासिक बजेटमा मोबाइल खर्च व्यवस्थापन गर्ने मध्यमवर्गीय परिवार र विद्यार्थी वर्गलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

लामो समयदेखि उपभोक्ता अधिकारकर्मीले ‘अंग्रेजी क्यालेन्डरमा ३१ दिन हुँदा पनि प्याकेज २८ दिनको हुनु ठगी हो’ भन्दै विरोध जनाउँदै आएका थिए। यो परिवर्तनलाई एनटीसीले उपभोक्तामैत्री सुधारको संज्ञा दिएको छ। यसले एकातिर ग्राहक सन्तुष्टिमा वृद्धि हुने अपेक्षा गरिएको छ भने अर्कोतिर निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायकसँगको प्रतिस्पर्धामा एनटीसीको साखलाई थप मजबुत बनाउने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button