सात दशकको मित्रतामा साहित्यको सेतु
रुसी सदनमा 'नेपाल अध्ययन' गोष्ठी, देवकोटादेखि चेखभसम्मको चर्चा

काठमाडौं । नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको अवसरमा काठमाडौंस्थित रुसी सदनमा सोमबार ‘रुसमा नेपाल अध्ययन’ विषयक एकदिने विचार गोष्ठी सम्पन्न भएको छ। शैली थिएटरको पहल तथा रुसी सदनको संयुक्त आयोजनामा भएको यस कार्यक्रमले दुई देशबीचको सांस्कृतिक, शैक्षिक तथा प्राज्ञिक सहकार्यको नयाँ आयामलाई उजागर गरेको छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं नाटककार महेश पौड्यालको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा नेपालस्थित रुसी राजदूतावासका कार्यवाहक राजदूत रिनचेन रक्षायेभ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। उनले स्वागत मन्तव्यका क्रममा दुवै देशमा एकअर्काको कला र साहित्यबारे पर्याप्त अध्ययन नभएको यथार्थ औंल्याउँदै यस्ता अन्तरक्रियाले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने धारणा राखे।

कार्यक्रमका मुख्य वक्ता, रुसका लागि पूर्व नेपाली राजदूत, काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं साहित्यकार डा. जङ्गब चौहानले रुसी विद्वत् वृत्तमा नेपालप्रति रहेको चासोको ऐतिहासिक रूपरेखा प्रस्तुत गरे। उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मस्को भ्रमण र रुसी विदुषी ल्युडमिला अगानिनासँगको मित्रतालाई सांस्कृतिक कूटनीतिको एउटा कोशेढुङ्गाका रूपमा स्मरण गरे। “त्यो भ्रमणले नेपाली साहित्यलाई रुसी भाषामा प्रवेश गराउने ढोका खोलिदियो,” डा. चौहानले भने। उनले रुसमा चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापनलगायत विधामा अध्ययन गरेर स्वदेश फर्किएका नेपाली विद्यार्थीका पुस्ताहरूको राष्ट्र निर्माणमा रहेको योगदानको पनि चर्चा गर्दै साहित्य, शिक्षा र वैज्ञानिक आदानप्रदान नै दीर्घकालीन सम्बन्धका मूल जग भएको बताए।
शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले रुसी सदनसँगको १७ वर्ष लामो सहकार्यको फलस्वरूप थिएटरले आन्तोन चेखभ, निकोलाई गोगोल, लियो टोल्स्टोय तथा अलेक्जेन्डर पुस्किनका १५ भन्दा बढी कृतिहरू नेपाली रङ्गमञ्चमा उतारिसकेको जानकारी दिए। “रङ्गमञ्च सांस्कृतिक आदानप्रदानको सशक्त माध्यम हो,” बुढाथोकीले भने, “बोल्सोइ थिएटरको २५०औं वार्षिकोत्सवका अवसरमा पनि हामी विशेष प्रस्तुति दिने तयारीमा छौं।”
रुसी सदनकी निर्देशक अनास्टासिया खोख्लोभाले रुसी विज्ञान प्रतिष्ठानअन्तर्गतको प्राच्य अध्ययन संस्थानले हरेक वर्ष हिमालय अध्ययनसम्बन्धी सम्मेलन आयोजना गर्दै आएको जानकारी दिँदै नेपाली अनुसन्धानकर्ताहरूलाई सहभागिताका लागि निम्तो दिइन्। उनले शैक्षिक तथा सांस्कृतिक आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिन्।
कार्यक्रममा मस्कोबाट नेपाल–रुस मैत्री तथा सहकार्य समाजका प्रतिनिधि दिपेश दाहालले भर्चुअल माध्यमबाट शुभकामना सन्देश प्रेषित गरेका थिए। शिलाश थापा तामाङले सहजीकरण गरेको उक्त गोष्ठीमा प्राध्यापक, अनुसन्धानकर्ता, साहित्यकार तथा रङ्गकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।





