२६ चैत्र २०८२, बिहीबार

काठमाडौंको रङ्गमञ्चमा चलचित्रको विश्वयात्रा

नवौं निफमा 'पूजा, सर' उत्कृष्ट, रुसी–नेपाल मित्रताको रौनक

काठमाडौं । राजधानी काठमाडौंमा सोमबार सम्पन्न नवौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) ले ४० देशका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्दै विश्व सिनेमाको विविध रङ्ग र कथालाई एकै थलोमा उतारेको छ। यसपटकको महोत्सव नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको अवसरमा रुसी चलचित्र दिवसको विशेष आयोजनाले थप रौनक बनेको थियो।

महोत्सवको सर्वाधिक प्रतिष्ठित गौतम बुद्ध अवार्ड (उत्कृष्ट फिचर फिल्म) यसपटक निर्देशक दीपक रौनियारको चलचित्र ‘पूजा, सर’ ले हात पारेको छ। सन् २०१५ को दक्षिणी नेपालको आन्दोलनको पृष्ठभूमिमा बनेको यो चलचित्रमा जातीय र लैङ्गिक विभेदको सामना गर्दै बाल अपहरणको रहस्यमय घटनाको अनुसन्धान गर्ने प्रहरी अधिकृत पूजाको कथा चित्रण गरिएको छ।

यस्तै, निर्देशक समुन्द्र भट्टको चलचित्र ‘गुन्यु चोलो’ ले राष्ट्रिय विधातर्फ तीन प्रमुख अवार्डमा वर्चस्व कायम गर्यो। पितृसत्तात्मक समाजमा इज्जत, परम्परा र व्यक्तिगत सुखको द्वन्द्वमा अल्झिएको यो महाकाव्यात्मक कथाले उत्कृष्ट राष्ट्रिय चलचित्र, उत्कृष्ट निर्देशन (समुन्द्र भट्ट) र उत्कृष्ट अभिनेता (नायर हुसेन) को अवार्ड जितेको छ।

यसपटकको निर्णायक मण्डलमा रुसको उपस्थितिले पनि महोत्सवको अन्तर्राष्ट्रिय गरिमा बढाएको थियो। रुसी सदन र रोस्किनोको संयुक्त पहलमा आयोजित रुसी चलचित्र दिवसकै क्रममा रुसी पटकथा लेखक तथा निर्माता मरिना स्मिर्नोभाले अनलाइन माध्यमबाट विश्व पानोरमा र नेपाल प्रतिस्पर्धा विधाको निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। उनीसँगै निर्णायक मण्डलमा वरिष्ठ निर्देशक तुलसी घिमिरे, पाकिस्तानका फरजाद नाबी, फिप्रेस्की र गोल्डेन ग्लोब्सका नरेन्द्र बान्दाबे तथा नेपाल चलचित्र समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमल्सेना रहेका थिए।

अन्य प्रमुख अवार्डहरू :

· उत्कृष्ट दक्षिण एसियाली चलचित्र : ‘जार’ (निर्देशक फूर्बा छिरिङ लामा, भारत/नेपाल) — उन्नाइसौं शताब्दीको ऐतिहासिक पृष्ठभूमिमा निषेधित प्रेम र परम्परा विरुद्ध आधुनिकताको सङ्घर्षको कथा।
· आइएफएफएस डन क्विजोट अवार्ड : ‘माई डटर्स हेयर’ (निर्देशक हेसाम फराहमन्द, इरान) — सामाजिक बन्धनभित्र स्वतन्त्र छनोटको लडाइँको पारिवारिक कथा।
· माउन्ट एभरेस्ट अवार्ड (वृत्तचित्र) : ‘द ग्राउन्ड बिनिथ आवर फिट’ (निर्देशक यर्सा रोका फानबर्ग, आइसल्याण्ड/पोल्याण्ड) — वृद्धाश्रममा एक्ला वृद्धवृद्धाको मर्मस्पर्शी कथा।
· बागमती अवार्ड (छोटो चलचित्र) : ‘सिप’ (निर्देशक हादी बाबाइफर, इरान) — तेहरानमा बलि चढ्न लागेको भेडालाई बचाउन सङ्घर्ष गर्ने एक बालिकाको १३ मिनेटको कथा।
· मञ्जुश्री अवार्ड (एआई चलचित्र) : ‘स्पिरिट अफ द माउन्टेन’ (निर्देशक पाङ जिया, चीन) — रहस्यमय मुसाको गाउँमा बुद्धिमता र अस्तित्वको भविष्यमुखी दृष्टान्त।
· उत्कृष्ट राष्ट्रिय छोटो चलचित्र : ‘रिहाना’ (निर्देशक सुरज पौडेल) — पप स्टारकै नाम राखेर सामाजिक आलोचना र आत्मखोजको यात्रामा निस्कने १३ वर्षीया बालिकाको कथा।

महोत्सवको समापन समारोहले विश्वभरका चलचित्रकर्मीलाई जोड्ने यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। आयोजकहरूले आगामी वर्ष हुने निफको दशौं संस्करण झनै भव्य बनाउने वाचा गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button