२९ बैशाख २०८३, मंगलवार

नाथुला नाका खुल्दै, मोदी सिक्किम आउँदै

मुख्यमन्त्रीको दिल्ली भेटमा सुनौला अवसरका दुई खुसीको खबर

गान्ताेक । भारतको पूर्वोत्तर राज्य सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता गरेका छन्। सो क्रममा सिक्किमको विकास यात्रालाई थप गति दिने दुई महत्त्वपूर्ण उपलब्धि हासिल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। ऐतिहासिक नाथुला व्यापारिक नाका पुनः सञ्चालन र राज्य स्थापनाको स्वर्णिम महोत्सवमा स्वयं प्रधानमन्त्रीको उपस्थिति।

मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत भेटवार्ताको जानकारी दिँदै लेखेका छन्, “माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग शिष्टाचार भेटवार्ता गर्ने सौभाग्य प्राप्त भयो। यो भेट न्यानो, सौहार्दपूर्ण र अर्थपूर्ण रह्यो।” उनले भारतको सबैभन्दा लामो समय सेवा गर्ने सरकार प्रमुख बनेकोमा मोदीलाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए।

भेटका क्रममा मुख्यमन्त्रीले सिक्किमको पूर्वाधार विकास, दिगो विकास र जनकल्याणका प्रमुख प्राथमिकताहरूबारे प्रधानमन्त्रीलाई अवगत गराए। उनले केन्द्र सरकारबाट थप सहयोग र सहकार्यको अपेक्षा राख्दै यी क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे छलफल गरेका थिए।

यस भेटवार्ताको सबैभन्दा उल्लेखनीय उपलब्धि भनेको पुरानो रेशम मार्गअन्तर्गतको नाथुला व्यापारिक नाका आगामी जुन २०२६ देखि पुनः सञ्चालन हुने सुनिश्चितता हो। वर्षौंदेखि बन्द रहेको यो नाका खुलेपछि सीमावर्ती स्थानीय समुदाय र व्यापारी वर्गले ठूलो राहत तथा आर्थिक लाभ पाउने अपेक्षा गरिएको छ। मुख्यमन्त्रीले यस निर्णयप्रति प्रधानमन्त्री मोदीप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्।

यसैगरी, सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको समापन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित हुन मुख्यमन्त्रीले दिएको निम्तो प्रधानमन्त्री मोदीले सहर्ष स्वीकार गरेका छन्। यसले सिक्किमवासीप्रति केन्द्र सरकारको अपनत्व र सद्भावको सन्देश प्रवाह भएको विश्लेषकहरूको भनाइ छ।

मुख्यमन्त्री तामाङले सिक्किमको निरन्तर प्रगति र समृद्धिका लागि भारत सरकारले दिँदै आएको मार्गदर्शन, प्रोत्साहन र अटुट सहयोगप्रति पनि आभार व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button