२९ बैशाख २०८३, मंगलवार

तादोङको धर्ती गुञ्जायमान : पद्म महापुराणको पाँचौं दिन

बौद्ध गुरुको प्रवचन र बाँसुरीको धुनले बाँध्यो भक्तजनको मन

तादोङ (सिक्किम) । विश्व शान्तिको कामनासहित तादोङमा जारी ११ दिने पद्म महापुराण ज्ञान यज्ञ अन्तर्गतको विश्व शान्ति महायज्ञको पाँचौं दिनको सायंकालीन सत्र बुधबार अत्यन्तै भव्य र श्रद्धामय वातावरणमा सम्पन्न भएको छ। साँझ ढल्दै गर्दा यज्ञस्थलमा भेला भएका हजारौं भक्तजनको घुइँचोले तादोङको धर्ती नै गुञ्जायमान बनेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको बौद्ध गुरुको आध्यात्मिक प्रवचनले उपस्थित श्रद्धालुहरूलाई मन्त्रमुग्ध बनायो। गुरुले मानव जीवनको वास्तविक उद्देश्य, आत्मिक शुद्धिको महत्त्व, सहअस्तित्वको दर्शन र वर्तमान विश्व परिवेशमा शान्तिको अपरिहार्यताबारे गहन विचार प्रस्तुत गरे। उनले भक्तजनहरूलाई नकारात्मकता त्यागेर सकारात्मक जीवनशैली अङ्गाल्न आह्वान गर्दै भने, “बाहिरी शान्ति खोज्नुभन्दा पहिले आफूभित्रको कोलाहल शान्त पार्नुहोस्, विश्व शान्तिको बाटो त्यहीँबाट सुरु हुन्छ।”

सत्रलाई थप सुमधुर र सांस्कृतिक रूपमा समृद्ध बनाउने काम गरे मानव उत्थान सेवा समिति, गान्तोक शाखाअन्तर्गतको तासिल युवा तथा बाल सभाका विद्यार्थीहरूले। उनीहरूले प्रस्तुत गरेको सामूहिक भजनले यज्ञस्थललाई भक्तिरसले ओतप्रोत बनायो। साना बालबालिकाको मुखारविन्दबाट निस्किएका ती मधुर भजनले उपस्थित सबैको मन छोएको थियो।

यस्तै, जेनेसिस गुरुकुल गान्तोकका विद्यार्थीहरूले बाँसुरी र तबलाजस्ता वाद्यवादनमार्फत दिएको मनमोहक साङ्गीतिक प्रस्तुति कार्यक्रमको अर्को विशेष आकर्षण बन्यो। बाँसुरीको तीखो तर मीठो धुन र तबलाको तालमेलले वातावरणलाई झनै आध्यात्मिक बनाएको थियो। सहभागीहरूले धार्मिक विशेष कविता वाचन गर्दै आफ्नो कला र भक्तिको प्रस्तुति दिएका थिए।

आयोजक समितिले सम्पूर्ण सत्र शान्त, अनुशासित तथा आध्यात्मिक ऊर्जाले भरिपूर्ण रहेको जनाएको छ। समितिले आगामी दिनहरूमा पनि यस्तै भव्य कार्यक्रमहरू निरन्तर सञ्चालन हुने जानकारी दिँदै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सपरिवार उपस्थित भई पुण्य लाभ लिन आग्रह गरेको छ। महायज्ञ आगामी दिनमा पनि विभिन्न धार्मिक अनुष्ठान र सांस्कृतिक झाँकीहरूका साथ जारी रहनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button