२८ बैशाख २०८३, सोमबार

पश्चिम एसियाको युद्धको छायाँ दिल्लीसम्म

भारत सरकारले विश्वव्यापी स्टिल सम्मेलन अनिश्चितकालका लागि स्थगित गर्यो

नयाँदिल्ली । पश्चिम एसियामा जारी युद्ध र अस्थिरताको असर अब भारतको औद्योगिक कूटनीतिमा पनि देखिन थालेको छ। भारत सरकारले मध्यपूर्वको पछिल्लो परिस्थितिलाई कारण देखाउँदै आगामी साता राजधानी नयाँदिल्लीमा हुन लागेको विश्वव्यापी इस्पात सम्मेलन ‘भारत स्टिल २०२६’ अनिश्चितकालका लागि स्थगित गरेको बुधबार घोषणा गरेको छ।

भारतीय इस्पात मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “पश्चिम एसियाको सङ्कटसहित विश्वव्यापी रूपमा विकसित भइरहेको परिस्थिति र यसबाट सम्बद्ध पक्षहरूलाई परिरहेको असुविधा तथा कठिनाइलाई दृष्टिगत गर्दै ‘भारत स्टिल २०२६’ सम्मेलन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ।”

सम्मेलन आगामी अप्रिल १६ र १७ तारिखमा नयाँदिल्लीमा आयोजना हुने तय भएको थियो। यसमा विश्वभरका इस्पात उद्योगी, नीति निर्माता, लगानीकर्ता र विज्ञहरूको सहभागिता रहने अपेक्षा गरिएको थियो। तर, अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि पश्चिम एसियामा चर्किएको तनाव र ‘स्ट्रेट अफ हर्मुज’ जस्तो रणनीतिक जलमार्गमा देखिएको अनिश्चितताका कारण अन्तर्राष्ट्रिय सहभागीहरूको आवागमन र समग्र कार्यक्रमको वातावरण प्रभावित हुने ठहर गर्दै सरकारले यो निर्णय लिएको हो।

इस्पात क्षेत्रका जानकारहरूका अनुसार, पश्चिम एसियाको अस्थिरताले विश्वव्यापी आपूर्ति शृङ्खला र कच्चा पदार्थको मूल्यमा ठूलो उतारचढाव ल्याइरहेका बेला यस्तो सम्मेलन स्थगित हुनु स्वाभाविक भए पनि यसले भारतको बढ्दो इस्पात उद्योगको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको गतिलाई भने केही सुस्ताउने देखिन्छ।

भारत सरकारले सम्मेलनको नयाँ मिति परिस्थिति सामान्य भएपछि मात्र घोषणा गरिने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button