अन्तरिक्षमा चीनको अर्को सफल हस्तक्षेप
ताइयुआनबाट २१औं समूहको लो–अर्बिट इन्टरनेट उपग्रह प्रक्षेपण

बेइजिङ । चीनले आफ्नो महत्त्वाकांक्षी अन्तरिक्ष कार्यक्रमअन्तर्गत बिहीबार बिहानै अर्को सफल प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय बिहान ३:३८ बजे (बेइजिङ समय) परिमार्जित लङ मार्च–६ वाहक रकेटमार्फत नयाँ उपग्रह समूहलाई सफलतापूर्वक अन्तरिक्षमा पठाइएको हो।
यो उपग्रह समूह चीनको लो–अर्बिट इन्टरनेट नेटवर्कको २१औं समूह हो। प्रक्षेपणपछि यो समूह आफ्नो निर्धारित कक्षमा सफलतापूर्वक स्थापित भएको चिनियाँ अन्तरिक्ष अधिकारीहरूले जानकारी दिएका छन्। चीनले विश्वव्यापी इन्टरनेट पहुँच विस्तारको लक्ष्यसहित तीव्र गतिमा लो–अर्बिट उपग्रहहरूको सञ्जाल विस्तार गरिरहेको छ।
यो प्रक्षेपण चीनको भरपर्दो लङ मार्च वाहक रकेट शृङ्खलाको ६३७औं उडान मिसनका रूपमा कीर्तिमानी बनेको छ। लङ मार्च–६ को परिमार्जित संस्करणले साना तथा मझौला आकारका उपग्रहहरूलाई कम लागतमा र तीव्र गतिमा कक्षमा स्थापित गर्न सक्ने क्षमता राख्दछ।
विश्वव्यापी रूपमा स्पेसएक्सको स्टारलिङ्कसँग प्रतिस्पर्धा गर्न चीनले आफ्नै लो–अर्बिट इन्टरनेट परियोजनालाई तीव्रता दिइरहेको सन्दर्भमा यो पछिल्लो प्रक्षेपणलाई महत्त्वपूर्ण मानिएको छ। यसअघि पनि चीनले पटक–पटक यस्ता उपग्रह समूह प्रक्षेपण गर्दै आफ्नो अन्तरिक्ष उपस्थितिलाई बलियो बनाउँदै लगेको छ।





