११ बैशाख २०८३, शुक्रबार

सर्वोच्चको आदेशपछि ओली अस्पतालबाटै रिहा

परिवारको जिम्मा लगाइयो; लेखकको पनि खुल्यो ढोका

काठमाडौं । जेनजी आन्दोलनको दमनसम्बन्धी आरोपमा गत चैत १४ गतेदेखि हिरासतमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले बिहीबार रिहा गरेको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई अस्पतालकै शय्याबाट परिवारको जिम्मा लगाइएको छ।

प्रहरीका अनुसार, ओलीको थप उपचार र स्वास्थ्य अवस्थाका बारेमा अब चिकित्सकहरूले नै आवश्यक निर्णय लिनेछन्। ओलीलाई रिहा गरिएको खबर पाएलगत्तै उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगिसकेकी छन्।

यसअघि, ओलीलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते बेलुका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत (बिहीबार) भित्र टुङ्ग्याउन आदेश दिएको थियो। साथै, तोकिएको समयभित्र अनुसन्धान टुङ्गिन नसकेमा शर्तसहित रिहा गर्न पनि अदालतले परमादेश जारी गरेको थियो।

सर्वोच्चको उक्त आदेशपछि प्रहरीले ओलीलाई नियन्त्रणमुक्त गरेको हो। यता, जेनजी आन्दोलनकै अर्का आरोपित पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि रिहा गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। लेखकलाई नेपाल प्रहरीको दुई नम्बर गण महाराजगन्जमा राखिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button