११ बैशाख २०८३, शुक्रबार

‘बादल मडारियो, जबज निथ्रुक्कै भिज्यो’ एमालेभित्र चर्कियो अन्तरसङ्घर्ष, बादलको अभिव्यक्तिले दक्षिणपन्थी बाहिरिएको दाबी

काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक कचिङ्गल सतहमा आउने क्रम तीव्र बन्दै गएको छ। गत फागुन २१ को निर्वाचनको कमजोर परिणाम र पार्टी पुनर्गठनको मुद्दा चर्किरहेका बेला पार्टीकै शीर्ष नेताहरू एकापसमा आरोप–प्रत्यारोपमा उत्रिएका छन्। कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ को एक अभिव्यक्तिले सुरु भएको यो विवादले अब एमालेभित्रको वैचारिक ध्रुवीकरणलाई झनै पेचिलो बनाइदिएको छ।

बुधबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले आफूले गत साता संसद्मा दिएको अभिव्यक्ति पार्टी नीति र निर्णय अनुसार नै भएको दोहोर्याए। संसद्मा उनले ‘रास्वपाले सेना, विदेशी शक्ति र कर्मचारीतन्त्रको सहयोगमा करिब दुईतिहाइ बहुमत ल्याएको’ अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिप्रति उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई लगायतले आपत्ति जनाएपछि चैत २० गते आकस्मिक सचिवालय बैठक बसेर बादलको अभिव्यक्तिलाई सच्याइएको थियो। तर बादलले पोखरामा आफ्नो अडान कायम राख्दै उक्त अभिव्यक्तिले पार्टीभित्र लुकेका ‘दक्षिणपन्थी’ प्रवृत्तिलाई बाहिर ल्याइदिएको दाबी गरे।

बादलले पोखरामा भने, “अन्तर्संघर्षको स्थिति कस्तो छ, मान्छेहरू चाहिँ त्यो वक्तव्यबाट उत्तेजित भए। को–को मान्छेहरू त्यो वक्तव्यबाट उत्तेजित भए, भित्र लुकेका को–को मान्छेहरू बाहिर देखिए। किनभने त्यो स्टेटमेन्टले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्सपोज गरेको मात्र हो।” उनले आफ्नो अभिव्यक्ति देश र जनताका दुस्मनमाथिको ठूलो आक्रमण भएको समेत बताए।

बादलको यो पछिल्लो अभिव्यक्तिपछि एमालेभित्र प्रतिक्रियाको लहर नै चलेको छ। नेता सूर्य थापाले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, “पार्टीका कावा अध्यक्ष र उपाध्यक्ष, उपमहासचिवबिच नै व्यक्तिगत भेट र संवाद हुँदैन कि? सार्वजनिक/सोसल मिडिया नै बहसको रोजाइ पो बनाइएका छन्।”

अर्का नेता खिमलाल भट्टराईले भने बादलको भाषा र शैलीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। उनले लेखेका छन्, “हाम्रो पार्टी नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् प्रतिनिधिसभामा दलका नेता कमरेड रामबहादुर थापा ‘बादल’ले हिजो चैत २५ गते पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेस गर्नुभयो, त्यो पार्टी नीति र एमाले स्कुलिङका विरुद्ध छ।” उनले ‘कब्जा’, ‘आक्रमण’ र ‘दुस्मन’ जस्ता शब्दावली एमालेको नभएको स्पष्ट पार्दै भने, “हामी कब्जा होइन, जनताको मन जितेर प्रतिस्पर्धामा श्रेष्ठ हुन्छौं। हामी आक्रमण होइन, शान्तिपूर्ण सङ्घर्षबाट विजय सुनिश्चित गर्छौं। हामी प्रतिस्पर्धा गर्छौं, दुस्मनी गर्दैनौं।” खिमलाल भट्टराई उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन्।

उपमहासचिवको कवितात्मक व्यङ्ग्य
एमाले उपमहासचिव योगेश भट्टराईले भने बादलको अभिव्यक्तिप्रति कवितात्मक शैलीमा व्यङ्ग्य गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा उनले लेखेको छोटो कविताले एमालेभित्रको वर्तमान अवस्थालाई सङ्केत गरेको छ:

बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ !
(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)

योगेशको यो कविताले एमालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि नै प्रश्न उठेको र पार्टीका संस्थापक नेताहरूको विरासतमाथि सङ्कट आएको सन्देश दिन खोजेको देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button