‘प्रतिशोधको राजनीति छताछुल्ल’ ओली-लेखक रिहापछि एमालेको व्यङ्ग्य, सर्वोच्च र प्रहरीप्रति आभार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार हाजिर जमानीमा रिहा भएका छन्। सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नमिल्ने भएपछि र ठोस प्रमाणको अभावमा सरकारी वकिल कार्यालयले मुद्दा नै नचलाउने निर्णय गरेपछि उनीहरूलाई रिहा गरिएको हो।
यस घटनाक्रमपछि नेकपा एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जाल मार्फत आफ्नो प्रतिक्रिया दिएका छन्। उनले यो घटनाले पार्टीको सुरुदेखिको दाबी सही रहेको पुष्टि गरेको बताउँदै वर्तमान सरकारमाथि कटाक्ष गरेका छन्।
सचिव बस्नेतले भनेका छन्, “सर्वोच्च अदालतको परमादेश अनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ।”
उनले थपे, “यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ।”
यद्यपि, सचिव बस्नेतले यस प्रकरणमा निष्पक्ष भूमिका निर्वाह गर्ने न्यायालय र सुरक्षा निकायप्रति भने आभार व्यक्त गरेका छन्। उनले भने, “यो घटनामा निष्पक्ष भूमिका निर्वाह गर्ने सर्वोच्च अदालत, नेपाल प्रहरी तथा सरकारी वकिल कार्यालयप्रति धन्यवाद व्यक्त गर्दछौं।”
गत चैत १४ गते जेनजी आन्दोलनको दमनसम्बन्धी आरोपमा पक्राउ परेका ओली र लेखकलाई सर्वोच्च अदालतले चैत २६ भित्र अनुसन्धान टुङ्ग्याउन र नसके रिहा गर्न परमादेश जारी गरेको थियो। सोही आदेशपछि बिहीबार उनीहरू रिहा भएका हुन्। ओलीलाई त्रिवि शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाइएको थियो भने लेखकलाई महाराजगन्जस्थित प्रहरी गणबाट रिहा गरिएको थियो।





