उपसभामुखका लागि राप्रपाको ‘सरस्वती’ लाई बनाउने दाउ
रास्वपाको समर्थनको सङ्केतपछि लामाको नाम अगाडि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ। राप्रपाका एक शीर्ष नेताका अनुसार, पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाउने योजना बनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार, सभामुख र उपसभामुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने र दुवै फरक-फरक दलका हुनुपर्ने प्रावधान छ। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुख चयन भइसकेकाले अब उपसभामुखका लागि फरक दल र भिन्न लिङ्गको व्यक्ति आवश्यक हुनेछ।
संसद्मा प्रतिनिधित्व गर्ने अन्य ठूला दलहरूलाई रास्वपाले समर्थन नगर्ने सङ्केत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग निरन्तर संवाद गरिरहेका थिए। यसअघि रास्वपा सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच यस विषयमा कुराकानी समेत भइसकेको छ।
राप्रपाका एक शीर्ष नेताले भने, “आज पनि कुरा भएको छ। रास्वपाले समर्थन गर्ने सङ्केत दिएको छ। हामी पार्टीमा अब छलफल गरेर टुङ्गो लगाउँछौं।”
यसैबीच, पहिलोपटक संसद्मा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुख पदका लागि मनोनयन फारम लगिसकेको छ। तर श्रमसंस्कृतिले वैचारिक रूपमा नै रास्वपाप्रति संसद्मा कडा प्रश्न उठाइरहेकाले रास्वपाले श्रमसंस्कृतिको तुलनामा राप्रपालाई नै समर्थन गर्ने सम्भावना बढी देखिएको छ।
यदि राप्रपा र रास्वपाबीच सहमति जुटेमा सरस्वती लामा उपसभामुख बन्नेछिन्। यसले संसद्को नयाँ समीकरणमा राप्रपाको उपस्थितिलाई थप सशक्त बनाउने र सत्ता साझेदारीको नयाँ ढोका खोल्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।





