‘प्रतिशोधको शिकार भएँ, तर न्याय जित्यो’ रिहाइपछि ओलीको पहिलो अभिव्यक्ति
घाइतेको उपचार खर्च पार्टीले बेहोर्ने घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १३ दिन लामो प्रहरी हिरासतपछि रिहा भएलगत्तै सरकारमाथि ‘पूर्वाग्रह र प्रतिशोधपूर्ण’ कारबाहीको गम्भीर आरोप लगाएका छन्। त्रिवि शिक्षण अस्पतालको शय्याबाट जारी गरिएको पहिलो औपचारिक वक्तव्यमा ओलीले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा हुनुपरेको स्पष्ट पार्दै आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन्।
ओलीले वक्तव्यमा भनेका छन्, “सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।”
उनले आफ्नो रिहाइका लागि सडकदेखि अदालतसम्म सङ्घर्ष गर्ने सम्पूर्ण पक्षहरूप्रति हार्दिक आभार प्रकट गरेका छन्। ओलीले भने, “मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु।” साथै, उनले परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान प्रकट गरेका छन्।
ओलीले आफू हिरासतमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूप्रति पनि कृतज्ञता जनाएका छन्। उनले भने, “प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु।”
आफ्नो रिहाइको माग गर्ने क्रममा सरकारी दमनमा परी घाइते भएका समर्थकहरूप्रति सम्वेदना प्रकट गर्दै ओलीले राज्यले उपचार खर्च नबेहोरे पार्टीले बेहोर्ने घोषणा गरेका छन्। उनले भने, “मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।”
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आफूले केही दिन अस्पतालमै बसेर थप उपचार गराउने जानकारी दिँदै ओलीले यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्ने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।





